काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालले द्वन्द्धग्रस्त अफ्गानिस्तानबाट नेपाली नागरिकलाई यथाशिघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ ।
युवा संघका महासचिव दिपक जिएमको नेतृत्वमा आज आइतबार सिंहदरबार गएको टोलीले नेपाली नागरिकलाई सुरक्षित रुपले स्वदेश फर्काउन माग गरिएको हो ।
द्वन्द्धग्रस्त क्षेत्रबाट विश्वका बिभिन्न मुलुकहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित रुपले स्वदेश फर्काउन थालिसकेको भए पनि नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिलाई गरेकोमा संघले आपत्ति जनाएको छ ।
‘श्रमिकका रुपमा रहेका सम्पुर्ण नेपालीहरुको सुरक्षालाई उच्च प्राथमीकतामा राखेर यथाशिघ्र नेपाल फर्काउन तत्काल आवश्यक कुटनैतिक, राजनीतिक र मानविय पहल गर्न नेपाल सरकारलाई युवा संघ नेपाल जोडदार माग गर्दछ’ संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपालबाट श्रम स्विकृती लिइ अफ्गानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी र सरकारको अभिलेखमा नरहेका काम गर्दै आएका अनुमानित ५ हजार गरी जम्मा २०/२१ हजार नेपाली नागरिकहरु अफ्गानिस्तानको घरेलु द्वन्दको जोखिममा रहेको कुराको संघले ध्यानाकर्षण गराएको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।
विश्व कोभिड महामारी बाट आक्रान्त भैरहेको र महामारीबाट जोगिन विश्व समुदाय एकताबद्ध भएर लडीरहेका बेलामा सार्कको सदस्य राष्ट्र अफ्गानिस्तान भने नराम्रो संग घरेलु गृह युद्धको चपेटामा फसेको छ ।
राजधानी काबुल लगायत सिंगो देशमा बिद्रोही तालिवानको आक्रमण बढ्दै गएको छ । हिंसात्मक कृयाकलाप, आत्माघआती बम प्रहारबाट जनधनको क्षति भैरहेको घटनाका साथै मानव अधिकार उलंघनको घटनाप्रति युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाबाट १२ जना नेपाली नागरिकको मृत्यु भएको खबरले युवा संघ दु:खी र स्तब्ध भएको छ । सो घटनाबाट मृत्युवरण गर्ने सबै मृतकप्रति हादिक श्रद्धाञ्जली व्यक्त गर्दै संघले दुःख व्यक्त गर्दछौं ।