कञ्चनपुरको बेलौरी नगरपालिका – ८ कालोपुल ३९ नम्बर पिल्लर स्थित भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान भएको स्थानबाट प्रहरीले ठूलो मात्रामा लागु औषध र नक्कली नोट छाप्ने मेसिनसहित अन्य सामान बरामद गरेको छ।
प्रहरीले घटनास्थलबाट १०/१० इन्चको सिसा नक्कली रुपैयाँ छाप्ने मेसिन २ थान, एफोर साइजमो पेपर एक जिस्ता, ह्वाइट सुगर जस्तो देखिने पाउडर पदार्थ अन्दाजी २४.८६ ग्राम,ब्राउन सुगरण्खैरो हिरोईन) जस्तो पदार्थ अन्दाजी ६५.८१ ग्राम, ५०० भारु बराबर साईजको काटिएको सेतो कागज ३ पिस,कागज काट्ने धारिलो चक्कु १ थान,३० ईन्चको रुलर (सकेल) थान १ बरामद गरेको छ। यस्तै १५ सय ३० ईन्चको रुलर (सकेल) थान १, भिबो मोबायल १ थान,सलाई १ थान,सेलो टेप २ थान,झोला १ थान र कालो पाउडर जस्तो देखीने पदार्थ ३.४५ग्राम प्रहरीले सो क्षेत्रबाट बरामद गरेको छ।
भारतबाट नेपाल आउँदै गरेका ४ जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर भारतको पिलिभित थाना हजारा बुदान–४ बस्ने २६ बर्षीय गोविन्द सिंहको मृत्यु भएको हो। भारतीय नागरिकहरुलाई शंका लागेपछि प्रहरी चौकी पचुईबाट गस्तीमा खटिएको प्रहरी हवल्दार डम्मर बहादुर ऐरी र महादेव सिंह बोहरासहितको सादा पोसाकमा खटिएका प्रहरी जावन शिवराज बुढाले रोकेर झोला चेकजाँच गर्ने क्रममा उनीहरुले एक्कासी फायरिङ गरेको र प्रहरी जवान विरबहादुर साउदको टाइप ७७ चाईनिज पेस्तोलबाट ७ राउण्ड गोली चलाउँदा सिंहको छातीमा गोली लागेर घाईते भएको प्रहरीले जनाएको छ।
घाईते सिंहको बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापाले जानकारी दिए। मृत्यु भएको सिंहको शव प्राथमिक स्वास्थ्य चौकी बेलौरीमा रािखएको छ।
अन्य तीन जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दोहोरो गोली हानाहानका क्रममा प्रहरी जवान बीरबहादुर साउदको खुट्टामा सामान्य चोट लागेर घाईते भएका छन्। घटना भए लगतै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाको कमाण्डमा ७ जना र बेलौरी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा १३ जनाको टोली खटिएको थियो।