कविता
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन
तिमीले र मैले खाने भात फरक भएनी
चपाउने त सबैले हो दाँत फरक भएनी ।
आकाश त एउटै हो घरको छाना फरक भए नि
निन्द्रा त एउटै हो बिस्तारा फरक भएन नि ।
हावा त एउटै हो फेर्ने सास फरक भए नि
कुवा र धारा त एउटै हो भर्ने भाडा फरक भए नि ।
टेक्ने जमिन त एउटै हो पाइला फरक- फरक भए नि
खन्ने औजार त मैले बनाएको हो जमिन तिम्रै भए पनि ।
भगवान त एउटै हो मन्दिर फरक -फरक भए नि
मुर्ति त मैले कुदेको हो तिमीले पुज्न नदिए पनि ।
भान्छा त एउटै हो चुलो फरक- फरक भए नि !
भाँडाकुँडा त मैले बनाएको हो तिमीले छुन नदिए पनि !
इज्जत त एउटै हो संमान तिमीले नदिए पनि ।
गहना त मैले बनाएको हो सुनपानीले मलाई चोख्याए पनि।
सुन्दरता त एउटै हो तिमीले मलाई कुरुप देखे पनि
तिम्रो लाज छोप्ने बस्त्र सिलाउने त मै हो तिमिले छि छि र दुर दुर गरे पनि ।
हामी सबै मान्छे नै हौं यसमा कुनै शंका छ र ?
रगत त सबैको रातै हुन्छ नि तिमीले बनाएको जात फरक भएनी।
तिमीले र मैले देख्ने सपना एउटै नहोला
सपना त सपना नै हुन्छ रात फरक भएनी ।
दाह संस्कार गर्छ नै मानिस मरे पछि नेपालीको पंरम्परा
आखिर दाउरा त्यही हो घाट फरक भएनी ।
आखिर फरक के छ र? मान्छे मान्छे एउटै हो
सानो ठूलो जात भनि तिमीले गर्ने व्यबहार फरक भए नि
लेखक – सरु सुनार दलित अधिकारकर्मी हुनुहुन्छ ।