बाँके, ४ असोज ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा १० पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, पुरैनीका ५९ बर्षिय पुरुषको शनिवार मध्य राती मृत्यु भएपछि मृतकको संख्या १० पुगेको हो । उनको भेरी अस्पतालमा उपचारका क्रममा रातको ११ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि २० भदौँको बेलुकी ५ बजे भेरी अस्पतालमा ल्याइएको थियो । कोरोना संक्रमण भएको आशंकामा २० भदौँ रातको १२ बजे उनको स्वाब लिइएको थियो । २१ भदौँको विहान ११ः४५ बजे उनको कोरोना रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।
अस्पताल भर्ना गरि उपचार गर्ने क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई हाइड्रोअक्सिजन दिइएको थियो । भने, सिपीएपी र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको भेरी अस्पतालका कोरोना अस्पताल ब्यवस्थापन इन्चार्ज डा. श्यामसुन्दर यादवले जानकारी दिए । उनको दुबै फोक्सोमा निमोनिया भई एआरडिएस भएको डा. यादवको भनाई छ ।