कोहलपुर, बैशाख ११,
यही बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि कोहलपुर नगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबार बिहान १० बजे अर्यालले कोहलपुर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले कुनै पनि दलको समर्थन नलिई स्वतन्त्र रुपमा कोहलपुरको मेयरमा उठ्ने घोषणा गरेका थिए । उम्मदवारी दर्ताका क्रममा बोल्दै अर्यालले कोहलपुर नगरलाई समृद्ध बनाउन आफूलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका छन् ।
विकास भए पनि व्यवस्थित नभएकाले मेयर जितेर कोहलपुरलाई व्यवस्थित शहर बनाउने बताएका छन् । अर्यालले यहाँको शैक्षिक गुणस्तर सुधार, निःशुल्क स्वास्थ्य, स्वच्छ खानेपानी, सडक, भौतिक पूर्वाधार, पर्यटन, कृषि सिंचाई, यातायात व्यवस्थापन लगायतका अन्य क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले कोहलपुरमै पाँचतारे होटल र बर्दियामा रिसोर्ट सञ्चालन गर्दै यहाँका नागरिकहरुलाई रोजगारीको सिर्जना गरेको तथा सरकारलाई करोडौ कर तिर्दै आएको उनले दावी गरे । अर्यालले पार्टी प्रवृत्तीको सिन्डिकेट तोड्न कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् । स्वतन्त्र लडेर राजनीतिक परिवर्तनसँगै सामाजिक र आर्थिक विकास गर्न तथा यहाँका नागरिकहरुका आवश्यकता पुरा गर्न आफ्नो उम्मेद्वारी भएको बताए । अर्याल लामो समयदेखि घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
कोहलपुर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म स्वतन्त्रबाट ५ जनाले वडा अध्यक्षका लागि उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । कोहलपुर २ बाट देविराम आचार्य, १० बाट शिवराज पोखरेल लगायत अन्य रहेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयर र उपमेयरको लागि उम्मेदवारी दर्ता भएको छ । भोली बेलुकी ५ बजेसम्म उम्मेदवारी गर्ने समय सिमा रहेको भट्टले बताए ।