नेपालगन्ज :डम्बरबहादुर विक माओवादी केन्द्रका ‘जनयुद्ध’कालीन नेता हुन् । खजुरा मात्र होइन्, सिंगो बाँकेभर उनी पुरानै उपनाम ‘तुफान’बाट परिचित छ । २०७४ को स्थानीय चुनावमा खजुरा गाउँपालिका अध्यक्षमा एमालेका किस्मतकुमार कक्षपति विजयी हुँदा उनी निकटतम् प्रतिद्वन्द्वी थिए, कांग्रेस तेस्रो बनेको थियो । ५ वर्षपछि उनै तुफान कांग्रेससँग गठबन्धन गरेर पुनः अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमालेले वडा नं. १ का वडाध्यक्ष सुमन मल्ललाई खजुरा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाएको छ । बाहुबली विगत भए पनि बितेको ५ वर्षमा उनी खजुराको नमूना वडाध्यक्ष बन्न सफल भए । त्यसैले पार्टीमा लामो समयदेखि योगदान दिँदैआएका थुप्रै आकांक्षीलाई पन्छाउँदै एमालेले युवा नेता मल्ललाई सर्वसम्मत उम्मेदवार बनायो ।
खजुरामा नेकपा एसबाट स्थानीय नेता होमनाथ सापकोटा पनि अध्यक्षको उम्मेदवार छन् । उनी अघिल्लै चुनावमा एमालेबाट आकांक्षी थिए । त्यतिबेला टिकट नपाएका सापकोटा पार्टी विभाजनपछि बनेको एसबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
उम्मेदवार त अरु पनि छन् । तर, वामपन्थी जनमत बलियो रहेको खजुरामा यसपटक पनि एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । ‘मुख्य भिडन्त एमाले र हाम्रो बीचै हो । नेकपा एस त्रिपक्षिय भिडन्तमा आउँदैन्’, माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विकले भने, ‘अघिल्लोचोटी एक्लै लड्दा निकटतम् प्रतिद्वन्द्वी थिएँ । यसपटक दोस्रो र तेस्रो शक्तिको गठबन्धन बन्दा चुनाव जित्नेमा ढुक्क छु ।’
एमालेका उम्मेदवार युवा र निर्वाचित वडाध्यक्ष भए पनि पार्टीले पुराना कार्यकर्तालाई पन्छाएर एकाएक अघि बढाइएका पात्र भएकाले आफूलाई सजिलो भएको उनी बताउँछन् । आफू ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलनबाट आएकाले परिवर्तनका पक्षधर मतदाताले जिताउने दाबी गर्दै विकले भने, ‘कांग्रेस र माओवादीबीच बलियो गठबन्धन छ । एमालेले राजनीतिक उम्मेदवार उठाएन् । त्यसैले पुराना नेता कार्यकर्ताले मलाई भोट दिनुहुन्छ ।’
एमालेमा पार्टीमा लामो योगदान गरेका पुराना नेता कार्यकर्ता टिकट वितरणका कारण असन्तुष्ट रहेकाले त्यसको फाइदा पनि आफूलाई हुने उनी बताउँछन् । तर, उनले भनेजस्तो असन्तुष्टि भने एमालेमा देखिन्न । खजुरा गाउँपालिका अध्यक्षका लागि पुराना नेता भक्तबहादुर केसी र युवा नेता भीम ओलीको दाबेदारी थियो । एमालेले व्यक्तिगत लोकप्रियताको मूल्यांकनभन्दै मल्ललाई सर्वसम्मत उम्मेदवार छानेको थियो ।
आकांक्षीमध्येका एक ओली निर्वाचन परिचालन कमिटीको संयोजक छन् भने केसी एमाले उम्मेदवार जिताउन खटिएका छन् । ‘असन्तुष्टि छ भन्ने कुरामा कुनै सत्यता छैन । निर्णय नहुँदासम्म दाबी गरिएको हो । निर्णय भईसकेपछि चुनाव जिताउन जुटेका छौँ’, ओलीले भने ।
एमाले उम्मेदवार मल्लले आफूलाई वडावासीले विश्वास गरेझैँ सिंगो पालिकाबासीले अघि बढाउने बताए । ‘मैले राजनीतिलाई पेसा व्यवसाय बनाउन खोजेको छैन । हिजो पनि निस्वार्थ सेवा गरेको हो, भोलि पनि गर्छु’, उनले भने, ‘खजुरालाई समृद्ध, विकसित र सुखी पालिका बनाउने मसँग योजना छ ।’
वडाध्यक्षका रूपमा भने मल्ल सफल मानिन्छन् । उनले वडाका सबै भित्री सडक कालोपत्रे गराए । शिक्षा र स्वास्थ्यमा सुधारका काम भए । मुख्य चोकहरू फ्रि वाईफाई जोन बनेका छन् । कोभिड महामारीको बेला उनको नेतृत्वमा वडावासीले पाएको स्वास्थ्य सेवा प्रशंसायोग्य थियो । वडामै डाक्टरसहितको आइसोलेशन वार्ड बनाएर वडा कार्यालयले स्वास्थ्य सेवा उपलब्ध गराएका थियो ।
तर, एमालेले दाबी गरेजस्तो चुनाव जित्न सजिलो भने देखिँदैन । खजुरा गाउँपालिकामा दलित मतदाताको संख्या उल्लेख्य छ । त्यसको लाभ माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विकले लिन सक्छन् । अघिल्लो पटक चुनाव हारेकाले यसपटक सहानुभूतिको मत पनि आफूले पाउने आशामा विक छन् । तर, बितेका ५ वर्ष हराएर चुनावमा फेरि आएको आरोप भने उनीमाथि छ । माओवादीभित्रको अन्तरविरोधमा एउटा समूहले सहयोग नगर्ने जोखिम पनि उत्तिकै छ ।
अघिल्लो चुनावमा प्राप्त मतलाई मात्र आधार मान्दा भने माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवारले सहजै जित्ने देखिन्छ । तर, यी दुई पार्टीले वडा तहसम्म तालमेल मिलाउन भने सकेनन् । अधिकांश वडामा भागबण्डा मिलेन । आठमध्ये चार वडामा दुई–दुई वडाध्यक्षमा गठबन्धन गरिएको छ । अरु चार वडामा एक्लाएक्लै चुनाव लड्न आआफ्नै उम्मेदवार छन् । नेकपा एस र जसपा गठबन्धनभन्दा बाहिर छन् । त्यसले गर्दा खजुरामा माओवादी–कांग्रेसको गठबन्धन खुकुलो देखिन्छ । तैपनि, माओवादी केन्द्र चुनाव जित्नेमा विश्वस्त देखिन्छ । ‘एक्लै पनि हामी बलियो नै हो । गठबन्धन बनेपछि सजिलै जित्ने आधार बनेको छ’, माओवादी नेता आईपी खरेलले भने ।
गठबन्धनका तर्फबाट उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल उठेकी छिन् । त्यस्तै, एमालेले ताजरुन निसालाई उम्मेदवार बनाएको छ । साविक रनियापुरकी निसाकै बलमा मधेसी र मुस्लिम मत पाउँदा चुनाव जित्न सजिलो हुनेमा एमाले आशावादी देखिन्छ । निसा एमालेका प्रभावशाली मुस्लिम नेता अफसर खाँ गुड्डुकी बुहारी हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिका एमालेले अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्षसहित जितेको थियो । एमालेका किस्मत कक्षपति ८ हजार ७० ल्याई विजयी हुँदा माओवादी केन्द्रका डम्बरबहादुर विकले ६ हजार ८ सय ९२ मतसहित निकटतम् प्रतिद्वन्द्वी थिए । कांग्रेसका नकी खाँले भने ४ हजार ९ सय ५४ मत ल्याई तेस्रो स्थानमा चित्त बुझाएका थिए ।
उपाध्यक्षमा एमालेकै एकमाया विक ८ हजार २ सय १४ मत ल्याई जितेकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फिरोज बानो खाँले ६ हजार ४ सय ३३ र कांग्रेसकी दीपा आलेले ४ हजार ९ सय ९७ मत ल्याएका थिए । खजुराका आठ वडामध्ये ५ वटामा एमाले, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडा जितेका थिए । शिलापत्र बाट