Sunday, November 24, 2024
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथानेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार

नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार

बाँके,कार्तिक २७ गते । सम्झौता भएको १५ वर्षपछि नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयलले बिहिवार भिडियो कन्फ्रेन्स मार्फत आइसिपीको शिलान्यास गरेसंगै काम शुरु भएको हो ।शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ र गोयलले नेपाल र भारतको विकासका लागि आइसीपी कोशेढुंगा सावित हुने बताएका छन् । सहलामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । सन् २००६ मा नेपाल र भारतबीच आइसीपी निर्माणको सम्झोता भएको थियो ।

यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा बल्ल काम शुरु हुन लागेको हो ।आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारवार गर्नुका साथै सुरक्षा पोष्ट समेत स्थापना गरिसकेको छ ।

आइसीपी निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने सम्पूर्ण काम पूरा गरेको पाँच वर्षपछि भारत सरकारले निर्माणको प्रकृया अघि बढाएको हो । भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ । निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ ।एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् ।
एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि मालवाहक सवारीसाधन जाँचपासमा सहज हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि लगायतका काम छिटो र व्यवस्थित हुनेछन् । आइसीपी निर्माणमा ढिलाइ हुँदा अहिले सडकको दुबै किनारामा मालबाहक गाडी राखेर भन्सार जाँच पास हुँदै आएको छ ।

जाँच चौकीका लागि सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा जग्गा अधिग्रहण गरी मुआब्जावापत नौ करोड चार लाख रुपैयाँ वितरण गरिसकेको छ । आइसीपी निर्माणपछि दुई देशको ब्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ ।भारतले नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा २०७५ पुस ३० गतेदेखि नै भन्सार जाँच चौकी निर्माण गरिरहेको छ । करिब २ अर्ब लागतमा सिमावर्ती भारतीय क्षेत्रमा अत्याधुनिक सुविधायुक्त जाँच चौकी निर्माण भइरहेको छ ।

नेपालतर्फको निर्माणमा भने भारतीय पक्षकै कारण ढिलाइ भएको छ । अब परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधि नेपालगन्ज आएर काम शुरु गर्ने तयारी गरेका छन् । शिलान्यास समारोहमा नेपालका प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद बाबुराम गौतम, मोहमद याकुव अन्सारी, नेपालगन्जका मेयर धवल शम्सेर राणा लगायतको सहभागि थियो ।
 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments