Thursday, December 26, 2024
spot_imgspot_img
HomeUncategorizedपोषण के सि द्वारा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

पोषण के सि द्वारा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

कोहलपुर /नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा उभिएका छन् । क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टी संगठनलाई तहसनहस बनाउँदै व्यक्तिबादी बन्दा पार्टी कमजोर भएको भन्दै नेताहर एक ठाउँमा उभिएका हुन् ।

क्षेत्र नम्बर १ को नेतृत्व बदल्न युवा नेता पोषण केसीलाई संघीय क्षेत्रीय उम्मेदवारका रुपमा अघि सारिएको छ । कोहलपुरमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा नेताहरुले पार्टीलाई विधिविधान र पद्धतिमा चलाउन नेतृत्व परिवर्तन अनिवार्य भएको बताए । क्षेत्रीय सभापति खत्रीको व्यक्तिबादी चरित्र र खराब नियतले इमान्दार नेता कार्यकर्ताको राजनीतिक हत्या भएको नेताहरुको भनाई थियो।

क्षेत्र नम्बर १ का लगभग सबै माथिल्लो तहका नेताहरु उपस्थित उम्मेदवार घोषणा कार्यक्रममा पूर्व सांसद ज्ञानु केसीले कांग्रेस बनाउने आफूहरुको अभियानमा ऐक्यबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गरे । व्यक्तिबादी चरित्रले पार्टी कमजोर बनेको उनले बताए । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलेले पार्टीभित्रको लोकतान्त्रिक जीवनलाई बचाउन आफूहरु एक ठाउँमा उभिएको बताए । पौडेलले जीवनका स्वर्णिम दिनहरु पार्टी संगठनमा विताएका नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गर्न आफूहरु अतिवादका विरुद्ध संगठित भएको बताए । उनले कार्यकर्तालाई दास बनाउने प्रबृत्तिका विरुद्ध आफूहरु एकजुट बनेको बताए ।

महासमिति सदस्य नारायण गौडेलले वडादेखि आफूहरुले शुरु गरेको अभियान जिल्लासम्मै सफल हुने बताउँदै नेपाली कांग्रेस बनाउने आफूहरुको अठोट रहेको उल्लेख गरे । महासमिति सदस्य हुर्मत न्यौपानेले पोषण केसी नेतृत्वको प्यानललाई जिताएर संघीय क्षेत्र अधिवेशनमा क्लिन स्विप गर्ने उद्घोष गरे । आफूहरु नेपाली कांग्रेस सुधार्ने अभियानमा लागेको न्यौपानेको भनाई छ । नेपाल विद्यार्थी संघका अध्यक्ष एवम् युवा नेता पूर्ण आचार्यले अहिलेका क्षेत्रीय सभापति खत्रीले सम्भावना बोकेका असल नेताहरुको तेजोबोध गर्दै राजनीतिक हत्या गरेकाले उनको विकल्प खोज्न आफूहरु संगठित भएको बताए । उनीसंग आफूहरुको व्यक्तिगत नभई राजनीतिक लडाइँ रहेको उनको भनाई छ । आचार्यले आफू पनि क्षेत्रीय सभापतिको उम्मेदवारका रुपमा रहेपनि टिमको निर्णयलाई शिरोपर गर्दै पोषण केसीलाई समर्थन गरेको बताए । पोषण केसीको नेतृत्वमा अब चुनावमा होमिएको भन्दै उनले पूरै टिमलाई जिताउन सबैलाई आह्वान गरे । यो पटक पनि चुके अब फेरि पाँच बर्ष पश्चाताप बाहेक केही नहुने उनको भनाइ थियो ।

क्षेत्रीय सभापतिका उम्मेदवार पोषण केसीले आफूले अग्रजहरुको सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने बताए । सबैलाई जोड्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो अठोट रहेको बताए । कोहलपुरमा पार्टीको क्षेत्रीय कार्यालय बनाउने घोषणा केसीले गरे । उनले व्यक्तिवाद, अधिनायकबाद र बालहठ प्रबृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । एउटै व्यक्तिको एकाधिकार तोड्न आफूहरु चुनावी मैदानमा होमिएको बताए ।

घोषणा कार्यक्रममा नेताहरु नारायण प्रसाद सिग्देल, मिना सिग्देल, नर बहादुर मल्ल, इशाक जोलाहा, प्रदेश क्षेत्रीय सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले पोषण केसी नेतृत्वको प्यानललाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे । क्षेत्रीय सचिव डिल्ली गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा कोहलपुरमा पार्टी कार्यालय बनाउन विभिन्न नेता कार्यकर्ताहरुले सहयोग रकम घोषणा गरेको सचीव गिरीले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments