बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा मेन्टल स्वास्थ्यको समस्या विकराल देखिएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पो.ओ.)ले बढैयातालमा मंगलबार आयोजना गरेको मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानिय तहमा समाहित गर्ने विषयक एक दिवशिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले भौतिक संरचना संगै मानसिक स्वास्थ्यका लागि तत्काल बजेट तर्जुम गर्न स्थानीय निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले १० वर्षीय जनयुद्धका घाईते, बेपत्ता परिवारहरु अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट पिडित रहेकोले उहाँहरुको स्वास्थ्यका लागि गम्भीर बन्न जरुरी रहेको जिकिर गर्नु भयो थियो ।
बढैयाताल गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ४ वर्षमा ४ हजार भन्दा बढी व्यक्तिहरुको क्षमता विकास गरेको बताउदै अब मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यको समस्या पालिकामा बढदै गएकोले अन्य शिर्षकको बजेटलाई रुपान्तरण गरी तत्काल कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौमतले समाजमा हुने बिभेदले मानिसमा मानसिक समस्या सृजना हुने गरेको बताउदै जनप्रतिनिधिहरुलाई पहिलो चरणमा मानसिक स्वास्थ्यका बारेमा तालिम दिन जरुरी रहेको जिकिर गर्नु भयो ।
बढैयाताल गाँउपालिकाको स्वास्थ्य शाखामा कार्यरत रमेश पौडेलले कोरोना कालमा ४१ जनाले ज्यान गुमाएको बताउदै उहाँले भन्नु भयो तनाबका कारण २२ जनाले आत्महत्या गरेका छन भने जसमा ११ जना पुरुष र ११ जना महिला रहेको जानकारी दिनु भएको थियो ।
रोजगार शाखा प्रमुख सरस्वती थारुले बढ्रैयातालमा मानसिक समस्याका कारण किशोरीहरु बेहोस हुने गरे पनि उनीहरुको मानसिक उपचार गराउन छोडेर भूत लागेको भनी धामी झाकरी मार्फत उपचार गराउनले मानसिक समस्या जटिल बन्दै गएकोले पालिकामा मनोबिज्ञ नियुक्त गरी तत्काल समस्या समाधान गर्न तर्फ केन्द्रीत हुन पालिकाको ध्यानाकर्षण गराउनु भएको थियो ।
वडा नं. ७ का अध्यक्ष इन्द्र प्रसाद लुईटेल, वडा नं. ४ का अध्यक्ष कर्ण बहादुर थापा, शिक्षा शाखामा कार्यरत श्रोत व्यक्ति बिमला गुरूङ लगायतका सहभागिहरुले डिप्रेसन, कडा मानसिक रोग भएका र अन्य प्रकारका मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरुवाट आत्महत्या गर्नेहरुको संख्या बढी रहेकोले नियन्त्रणका लागि भूमिका निर्वाह गर्न पालिकालाई सुझाव दिनु भएको थियो ।
गोष्ठीमा मनो विज्ञ प्रा. डा. शिशिर शुब्बा, टिपिओका कार्यक्रम संयोजक पिताम्बर कोइराला, टिपिओका प्राविधिक सल्लाहकार सुरज कोइरालाले मानसिक स्वास्थ्यका बारेमा सहजिकरण गर्नु भएको थियो ।
पालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, अतिथिहरुमा उपाध्यक्ष गौतम, प्रा मनोबिज्ञ डा. शिशिर सुब्बा, प्रमुख प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी रहनु भएको थियो । भने गोष्ठीमा पालिकाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, अधिकारकर्मी र द्वन्द्व पिडितहरुको सहभागिता रहेको थियो ।