नेपालगञ्ज, असोज १६ गते । भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमण भएकी एकजना २५ वर्षिय युवतीको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार, मृतक युवती कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा बस्दै आउनुभएको थियो । भदौ ३० गते कोरोना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । उहाँलाई प्लाज्म थेरापीसँगै रोगको प्रकृति अनुसार सबै प्रकारको अन्य सहयोगी उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उहाँको निधन भएको हो ।
कडाखालको कोभिड सङ्क्रमण देखिएकी उहाँको दुबैतर्फको फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ । मृतक युवती नेपालगञ्जस्थित निदान डायग्नोष्टिक सेन्टरको लेखा शाखामा कार्यरत रहनुभएको थियो । यससँगै बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १९ पुगेको छ ।