नरैनापुरको आगलागी पिडितका लागि तत्काल राहतको सामाग्री लिएर जिल्ला प्रमुख र सुरक्षा प्रमुखको टोली आज (आइतबार) घटनासथलतर्फ जाने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग तथा जिल्लाको सुरक्षा प्रमुखको एक टोली पिडितका लागि तत्काल चाहिने गैर खाद्य तथा सरसफाईको सामाग्री लिएर आज जान लागेको हो ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जिल्लाको एक टोली राहत लिएर जाने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला बिपद् व्यवस्थापन समिति र जिल्लाको बिभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा राहत लिएर जान लागेको हो ।
शनिबार दिउँसो करिब साढे चार बजे नरैनापुर गाउँपालिका वडा नं ४ को खोदावा गाउँमा आगलागी हुँदा १२० घर नष्ट भएका छन भने ३ जना घाइते भएका छन् ।