नुर पान्डे
साइकल निकै रफ तरिकाले चलाइरहेको थियो, “पग्ली, आफू पनि पग्ली छे हाम्लाई पनि पागल बनाइदिन्छे ।” जब इन्द्र जितले मलाई पग्ली भन्थ्यो, म सङ्गै हिडिरहेकि साथीलाई सहन नै गाह्रो हुन्थ्यो ।”ओए थारू, गधा चोर के भनिस, फेरि भन त” उनी झगडा नै गर्न तम्सिन्थिइन ।
उ साइकल घुमाउथ्यो, हामी नजिक आएर भन्थ्यो- “ओए फुच्ची तँ चुप लाग है,। तलाई केइ थाहाँ छैन । तलाइ नै होइन, हाम्रो एक सरले प्रसङ्साको पुच्छर भन्ने गर्थे । यो तेरो दिदी हो कि बहिनी हो, यल्लाई सम्झा, ओभर स्मार्ट हुन खोज्छे ।”
म साथिको हात समाउथे “चुप चुप, यल्लाई तिमी ठिक पार्न सक्दिनौँ ।” इन्द्रजित ले हामीलाई घुरेर हेर्थ्यो । उ अन्य समयमा, हाम्रो लागि सहयोगी र राम्रो साथी थियो, उस्को अनुहार र लर्बरिएको आवाज अनि कापिरहेको हुन्थ्यो,,, उ आज नसामा छ भन्ने बारे टाढा बाटै हेरेर थाहाँ हुन्थ्यो ।
“आइ लभ यू मैचाङ् , आइ लब यू चुलबुले प्रसङ्सा अरु केटाहरूले तिमीहरूलाई मन नपराए पनि मलाई त मन पर्छ यार ।”
साइकल घुमाएर, कुदाउन खोज्दै थियो, खाल्डो मा खस्यो ।
“मर्छ के यो त ! आज फेरि क्लासमा के भएको थियो र ?” साथी आत्तिदै उठाउन खोज्दै थिइन, मैले रोके । “के को क्लास नि, यस्ले ट्युसन पढ्दैन, अहिले यो नसामा छ । तिमी योसङ्ग नबोल ।”
“हो र? यो पनि नसामा फसिरहेको छ र?” उनी अचम्मित हुन्थिन ।
बिबेकले हामी नेर पुगेर घ्याच्च साइकल रोख्थ्यो । “केटाले आँट गरेकै हुन, के हो कान्छिहरू अब इन्द्रजितलाई कस्को हिरो बनाइदिउँ भन त ।”
“ह्या चुप लाग तिमी ।”
मुभी हरू अत्ति नै हेर्नुले म आफुले आफुलाई हिरोईन झैँ ठान्थे र नक्कल पारी पारी बोल्न खोज्थे । मेरो साथीहरू पनि त कम थिएनन् , हामी सबैजना लगभग उस्तै थिएँउ । मेरो साथी पनि केहि फरक आवाज निकाल्दै भन्न थाल्थिइन, “अप्पि बिबेक के हो के, कहाँ बाट यता आइपुग्यौ ?”
“किन छक्क पर्या म तिमीहरूको तिर आउन नमिल्ने हो र?”
बिबेकले मलाई हेर्थे- “प्रसङ्सा, अब यिन्लाई पनि क्लबको सदस्य बनाउनु पर्छ । तिमिले लेखेको नाटकको त तारिफ जत्ति गरेपनी अघाउदैनन् ,,, आजकल हाम्रो तिर त ।” म एक्लैले त्यो नाटक लेखेकी थिइन तर बिबेक हर बखत मेरै तारिफ गरेर अघाउदैन थिए । प्रायजसो भनिरहन्थे- आज हामी जहाँ छौँ, प्रसङ्साले गर्दा नै हो ।
“तिमी चाहिँ यत्ती सुनाउन यता तिर आएको हो क्या हो?”
“चुपलाग तिमि! हामिले कस्तो कस्तो योजना बनाइसक्यौँ, स्कुल भित्र अब फेरि तहल्का मच्चाउन पर्छ । तिम्रो बुवा र हाम्रो बुवाले नै अत्ति गरे के, यिनिहरूलाई खोइ कसरी ठिक पार्ने होला झैँ भैसक्यो । तिम्रो बुवाले तिमिलाई हाम्रो तिर आउन नदिनी, हाम्रा बा चाहिँ बरु रक्सी खाने पैसा भैजान्छ मेरो लागि थोरै पनि खर्च गर्न सार्है लोभ गर्छन् । सबैभन्दा बढी बाल अधिकार हनन त हामी माथी भैराको छ ।”
साथी चुपचाप रहन्थिइन । म भन्ने गर्थे- “तिमी बुझ्दैनौँ, बुवाले मेरो धेरै केयर गर्नु हुन्छ । मैले रातिमा, अरुको घरमा बसेको मन पराउनु हुन्न अनि धेरै नै चकचक गरेर घरलाई रंगमञ्च जस्तो बनाएको पनि, उहाँलाई मन पर्दैन ।”
“ह्या कत्ति रिस उठ्दो बानी छ के तिम्रा बा को, तिन्ले मात्र तिम्रो केयर गर्न जान्या छन र? कहिलेकाहीं त हाम्ले पनि तिम्रो केयर गर्न पाए हुनेथ्यो त ।”
खाल्डोमा खसेको इन्द्रजित, बल्लबल्ल उठेर खाल्डो भन्दा माथी आइसकेको हुन्थ्यो । साइकल खच्याङ् खुचुङ् गर्दै भन्थ्यो “त्यै त हाम्ले पनि केयर गर्न सक्छौ नि । यो प्रसङ्सा मेरि पनि छोरी हो ।”
हामी हासो कन्ट्रोल नै गर्न सक्दैन थियौं । बिबेक मेरो नजिक उभिदै भन्थे- “ए यिन्ले त प्रसङ्सालाई आफ्नी छोरी झैँ पो ठान्दै हैरान बनाउने रहिछन् । नाम इन्द्रजित हुँदैमा केटाले इन्द्रलाई नै जितेर आए झैँ पो आँट गरे त ।”
हामी हास्दै हुन्थ्यौँ, उ अझैँ बढी हसाउने कुरा गर्थ्यो -“यो मेरो छोरी त हो नि । मेरो छोरी जन्मे पछी यो जस्तै बनाउने मन छ ।”
“मेरो त बुढी हुन ।” हासिरहेका हामी, एकाएक बिबेकलाई हेर्न थाल्यौं । बिबेकले मेरो साथिलाई हेर्दै भन्थे- “तिमीहरु जस्लाई पनि प्ले बोय भन्दै हुन्छौ । अबदेखी मलाई चाहिँ प्ले बोए भन्ने नगर है । तिमीहरू मेरो सोल्टिना हो अनि प्रसङ्सा चाहिँ मेरो बुढी हुन ।”
“चुपलाग, तिमि त मेरो भाइ होनि । स्कुल जान्नौ, अहिलेसम्म पनि ड्रेस लगाएकै छैनौं । त्यसै त सबैलाई मैले नै बिगारे झैँ भइरहेको हुन्छ ।”
“ए हो त यार, ड्रेस लगाएकै छैन । थ्याङ्क्यू आसा दिदि मेरो पढाईका बारेमा यति धेरै ख्याल गर्नु हुन्छ ।” म भन्दा ठुलो उमेरको झैँ देखिने बिबेकले, नाटकमा हामी दिदि भाइ बनेकोले मलाई त्यो समय तिर आशा दिदी भनिरहनुले खिल्ली उडाएझैँ महसुस हुन्थ्यो । उनी आज्ञाकारी विद्यार्थी झैँ साइकल कुदाउदै आफ्नो घर तिर मोडिन्थे ।
खुट्टा खोच्याउदै इन्द्रजित हामी नेर आउँथ्यो । “प्रसङ्सा क्लब तिम्ले त बनाएको हो । बरु भनन सबिनाले साच्चै बिबेकलाई मन पराउछिन र? तिम्ले जे पनि गर्न सक्छौ सबिना लाई कि यताको कि उताको बनाइदेउ न ।” क्लबको सदस्य बन्न नरूचाउने इन्द्रजित, सबिनाकै निहुँ बनाउदै क्लब बारे खुबै चासो राख्थ्यो । म सङ्गै हिडिरहेकी साथीले हुक्क हुदै भन्थिन । “के हो के क्लब भित्रै पनि यस्तो ?”
“इन्द्रे सबिना तिम्रै हुन चिन्ता नलेउ ।” म साथिलाई वास्था नगरे झैँ गर्दै इन्द्रजित सङ्ग बोल्थे ।
“पक्का हो नि?”
उ मलाई नै बिस्वास गरेझैं गर्दै, मैले नै सबिना मिलाइदिनेछु झैँ ढुक्क हुदै कुन्नी कहाँ पो जान्थ्यो ।
“किन नाचिदिएकी थिइन कुन्नी यस्तासङ्ग सबिना नै चाहियो भन्दै मलाई हैरान बनाइरहन्छ ।” साथी हास्थिन ।
“सबिना पनि अत्ति गर्छिन है, आज फेरि स्कुलमा रमाइलो हुने भयो ।”
इन्द्रजित थारू भएपनी थारू झैँ देखिदैन थियो । न त भाषा न त शरिरको रङ, बनावट नै थारू झैँ थियो । हामी सङ्ग नै खुबै मिल्थ्यो, उस्का घर वरपरकाहरू को पढाई राम्रो हुनाले, बोर्डिङ स्कुलमा पढ्नेहरूसङ्ग हुर्केको हुनाले ।