Saturday, November 23, 2024
spot_imgspot_img
Homeसमाजशिक्षावडा नम्बर ६ नरैनापुरको पहिलो बालविवाह मुक्त वडा

वडा नम्बर ६ नरैनापुरको पहिलो बालविवाह मुक्त वडा

नेपालगन्ज । बाँकेका थप दुई वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ र जानकी गाउँपालिकाको वडा नम्बर ५ लाई आज एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

यी दुई वडासंगै बाँकेमा बालविवाह मुक्त घोषणा हुने वडाको संख्या १७ पुगेको छ । ८१ वडा रहेको बाँकेमा जानकी गाउँपालिकाका ५ वटा वडा, नेपालगन्जका ४ वडा, कोहलपुरका ३, खजुराका २, बैजनाथका २ र नरैनापुर गाउँपालिकाको एउटा वडा बालविवाह मुक्त घोषणा भएका छन् ।

नरैनापुरको वडा नम्बर ६ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो । वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिंहको अध्यक्षता एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जय किसान माविको प्रांगणमा भएको कार्यक्रममा वडाध्यक्ष सिंहले घोषणापत्र वाचन गरेर वडालाई वालविवाह मुक्त घोषणा गर्नुभएको हो ।

घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा १४।७७ प्रतिशत मात्र बालविवाह भएको बताउनुभयो । २० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार नरैनापुर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताउनुभयो ।

घोषणासभामा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले लामो प्रयासपछि नरैनापुरको एउटा वडा बालविवाह मुक्त घोषणा भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा अन्य वडालाई बालविवाह मुक्त घोषणाका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले आगामी फागुन मसान्तसम्म पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने स्थानीय तहहरुलाई १० लाख दिने घोषणा समेत गर्नुभयो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नरैनापुरको पहिलो वडाका रुपमा वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

जय किसान माविका शिक्षक अरुण यादवले संचालन गरेको कार्यक्रममा वडा नम्बर ६ का वडा सचिव जीवनलाल यादवले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस बीचमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments