नेपालगन्ज, सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा २ जना पुरुष र १० जना महिला रहेका छन् । उनीहरूमध्ये अहिलेसम्म १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका १२ निवासी हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ की निवासी ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मिना डाँगी, शारदा ३ की ६५ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका ४ की ६० वर्षीया डुली रेउले रहेको प्रहरीले जनाएको छ । यस्तै शान्तिनगर १ की ३५ वर्षीया शावित्रा केसी, घोराही १० खैराकी ३६ वर्षीया रूपा केसी, बबई ६ पञ्चकुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक वली रहेको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । तीब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये सामान्य घाइते २ जना भने उपचारपछि घर फर्किएका छन् । सिकिस्त ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज पठाइएको छ । ९ जना सिकिस्तलाई पनि उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।
सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा चालकसहित ३१ जना थिए । बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट २ सय मिटर तल खसेको थियो ।