कोहलपुर २६ फागुन – कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगाएतका मौलिक हक कार्यान्वयनका लागि माग राख्दै स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि नयाँ आन्दोलनका कार्यक्रमहरु गर्ने भएका छन । बुधबार पत्रकार सम्मेलन गर्दै केहि दिन आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।
शान्तिपूर्ण ढंगले नारा जुलुस, र्याली, चक्काजाम र धर्ना समेतका कार्यक्रम गरेका उनिहरुका पक्षमा स्थानीय तह कोहलपुर नगरपालिकाले माग सम्वोधन नगरी स्थानीय प्रहरी प्रशासनको सहयोगमा बल प्रयोग गर्ने र हस्तक्षेप गर्ने रणनिती लिए पछि आन्दोलनमा उत्रिएका स्थानियहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन ।
शान्तिनगरवासीको मागमा कोहलपुर नगरपालिका र नगर प्रमुख लूट बहादुर रावतले जनताको आधारभुत जनजीविका र संविधानले ग्यारेन्टि गरेका मौलिक हकका बिरुद्ध लागेकाले पटक पटकको वार्ता समेत असफल भएको सुकुम्वासी नेता जिवन थापा मगरले भन्नुभयो । सर्वाेच्च अदालतको आदेशको समेत कार्यान्वयनमा कोहलपुर नगरपालिका वडा नं. ११ र नगर प्रमुख रावतले वास्ता नगरी लामो समय देखि शान्ति नगर टोलमा बसेका अव्यवस्थित भुमिहिन तथा सुकुम्वासीले उठाएको मागमा सम्वेदनशिल नबनेकाले अहिलेकोे समस्या उत्पन्न भएको मगरले जानकारी दिनुभयो ।
लामो समयसम्म आन्दोलनमा उत्रिदा नगरपालिकाको दैनिक प्रशासनिक काम कारवाही अबरुद्ध हुनुकासाथै सेवाग्राहीले पाउने सेवाबाट बञ्चित भएकाले १० दिनको अल्टिमेटम सहित आन्दोलनको स्वरुप परिवर्तन गरिएको उनले बताउनु भयो।
कोहलपुर नगरपालिकाको मुख्य गेटमा २४ सै घण्टा धर्नामा बसेका उनिहरुले माग पुरा गर्न र माग पुरा नभए आन्दोलनबाट उत्पन्न घटनाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकाले लिनु पर्ने भन्दै कडा आन्दोलनको चेतावनी समेत दिनु भएको छ ।