२२ जना डिस्चार्जसँगै शुसिल कोईराला कोरोना विशेष अस्पताल बन्द
बाँके , अन्तिम पटक २२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको छ। क्यान्सर रोगका बिरामीको उपचारमा समस्या देखिएपछि कोरोना विशेष आइसोलेसन अस्पताल बन्द गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए।
प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो। उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो। क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताललाई बन्द भएसँगै त्यहाँबाट पाउने सेवा नेपालगन्जस्थित भेरी अस्पतालले दिन थालेको छ।
कोरोना संक्रमणका बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए। उनले क्यान्सर रोग भएका विरामीलाई कोरोना संक्रमात्र भएमा क्यान्सर अस्पतालमा राखेर उपचार गरिने बताए। १९ वैशाखमा बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषलाई आइसोलेसनमा राखेर पहिलो सेवा दिइएको थियो।
उक्त आइसोलेसनले ३ असोजसम्म एक सय ९७ जना कोरोना संक्रमितलाई सेवा दिएको प्रखर क्यान्सर अस्पतालका डा. प्रबिण गुप्ताले जानकारी दिए। उनले ३ असोजमा कोरोना जितेर २२ जना संक्रमित घर फर्किएको बताए। ‘क्यान्सरका विरामीको उपचार गर्नेगरी कोरोना बिशेष अस्पताल बन्द गरिएको छ,’ डा. गुप्ताले भने