Sunday, March 22, 2026
spot_imgspot_img
Homeसमाजशिक्षाबैजनाथमा आधारभूत तह परीक्षा सुरु, १,७५७ विद्यार्थी सहभागी

बैजनाथमा आधारभूत तह परीक्षा सुरु, १,७५७ विद्यार्थी सहभागी

बाँके, बैजनाथ – बैजनाथ गाउँपालिका मा आधारभूत तह उत्तीर्ण परीक्षा २०८२ अन्तर्गत कक्षा ५ र कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा औपचारिक रूपमा सुरु भएको छ। शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित र कडाइका साथ सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार कक्षा ५ को उत्तरपुस्तिका सम्बन्धित विद्यालयले नै जाँच गर्ने व्यवस्था गरिएको छ भने कक्षा ८ को परीक्षा पूर्ण रूपमा गाउँपालिका स्तरीय एकीकृत प्रणालीमार्फत सञ्चालन भइरहेको छ। प्रश्नपत्र छपाइदेखि ढुवानी, सुरक्षा, उत्तरपुस्तिका संकलन तथा नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया पालिकाको प्रत्यक्ष निगरानीमा रहने जनाइएको छ।
यस वर्ष कक्षा ८ मा कुल १,७५७ जना विद्यार्थी सहभागी भएका छन्। परीक्षा ८ वटा केन्द्रबाट सञ्चालन भइरहेको छ। सरस्वती मा.वि. (६ विद्यालय समावेश) मा २६३, जनता आदर्श मा.वि. मा ३७८, नेरामाबी नौवस्ता मा २२९, नेरामाबी नौलापुर मा २१८, हिमालय विद्या निकेतन मा २७६, नेरामाबी ओरी लालपुर मा २२७, ईश्वरी मा.वि. मा १३० र नेरामाबी टिटिहिरिया मा १२९ विद्यार्थी सहभागी रहेका छन्। सबैभन्दा बढी विद्यार्थी जनता आदर्श मा.वि. जब्दहवा केन्द्रमा र सबैभन्दा कम टिटिहिरिया केन्द्रमा रहेका छन्।
परीक्षा चैत ८ गतेदेखि चैत १६ गतेसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार चैत ८ मा नेपाली, ९ मा अंग्रेजी, १० मा विज्ञान, ११ मा सामाजिक, १२ मा स्वास्थ्य, १५ मा गणित र १६ गते “हाम्रो बैजनाथ” विषयको परीक्षा हुनेछ।
परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि मात्र नगर प्रहरीमार्फत सम्बन्धित केन्द्रमा पुर्‍याइने व्यवस्था गरिएको छ। परीक्षा समाप्तिपछि उत्तरपुस्तिका शिलबन्दी गरी लाहछापसहित नगर प्रहरीद्वारा गाउँपालिकामा सुरक्षित रूपमा बुझाइनेछ।
उत्तरपुस्तिका मूल्यांकनमा कोडिङ–डिकोडिङ प्रणाली अपनाइएको छ। यस प्रणालीअन्तर्गत परीक्षकले विद्यार्थीको नाम वा परिचय नदेखी अंकन गर्ने व्यवस्था गरिएको छ, जसले निष्पक्षता सुनिश्चित गर्ने विश्वास लिइएको छ। कक्षा ८ को उत्तरपुस्तिका जाँच चैत १७ गतेदेखि सुरु हुने र नतिजा चैत ३० गते शिक्षा शाखाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने शिक्षा प्रमुख विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो।
परीक्षाको अनुगमनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारी तथा पत्रकारहरूको संयुक्त टोली सक्रिय रहेको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही ले विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले निष्पक्ष र पारदर्शी परीक्षा सञ्चालनमा कुनै लापरबाही हुन नदिइने बताउनुभयो।
गाउँपालिकाले आधारभूत तहको परीक्षा व्यवस्थापनलाई नमुना अभ्यासका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। स्थानीय तहको सक्रिय समन्वय, सुरक्षा संयन्त्रको भूमिका र प्रविधिमैत्री मूल्यांकन प्रणालीले शिक्षा क्षेत्रमा विश्वास र उत्तरदायित्व अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments