कोहलपुर । कोहलपुर नगरपालिकाले शैक्षिक सत्र २०८३ प्रभावकारी रूपमा सञ्चालन गर्न नगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई आवश्यक निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नगर प्रमुखको उपस्थितिमा प्रधानाध्यापक, शिक्षक महासंघ, क्रिसा तथा अन्य सरोकारवालासँग बसेको संयुक्त बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको निर्देशनअनुसार स्थानीय तहमा शैक्षिक कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार वैशाख ३ गतेदेखि नियमित भर्ना कार्यक्रम सञ्चालन गरिनेछ भने वैशाख १४ गतेदेखि विधिवत् पठनपाठन सुरु हुनेछ। विद्यालयहरूले वैशाख १५ गतेभित्र शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन पूरा गर्नुपर्नेछ। साथै निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण प्रक्रिया पनि अघि बढाइने जनाइएको छ।
विद्यालयलाई वार्षिक कार्यतालिका तथा शैक्षिक योजना तयार गर्न, IEMIS प्रणालीमा शिक्षक, भौतिक संरचना र प्रशासनिक विवरण अद्यावधिक गर्न तथा शैक्षिक सत्र २०८२ को शिक्षक बिदा अभिलेख प्रमाणीकरण गर्न निर्देशन दिइएको छ।
यसैगरी शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका कार्यक्रम शिक्षा शाखासँग समन्वय गरी सञ्चालन गरिनेछ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले शुक्रबार तथा महिनाको अन्तिम दिन पूरा समय पठनपाठन सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ।

विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएका विद्यालयलाई नयाँ समिति गठन वा पुनर्गठन प्रक्रिया तत्काल अघि बढाउन पनि नगरपालिकाले निर्देशन दिएको छ।


