बाँके:
बाँकेको कोहलपुर–नेपालगन्जबाट भारतको राजधानी Delhi सम्म दैनिक लग्जरी एसी बस सेवा सञ्चालनमा आउने भएको छ। नेपाल–भारत आवतजावतलाई सहज बनाउने उद्देश्यले नमस्ते नेपाल यातायात व्यवसायी संघ र कृष्णसार यातायात व्यवसायी संघको सहकार्यमा सेवा सुरु गर्न लागिएको हो।
नमस्ते नेपाल यातायात व्यवसायी संघका अध्यक्ष निम बहादुर चलाउनेका अनुसार यो सेवा नेपाली नागरिकका लागि खुसीको खबर भएको बताउनुभयो। विशेषगरी बिरामीहरूलाई उपचार तथा नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जान–आउन सहज हुने उहाँको भनाइ छ। “नेपालगन्ज र कोहलपुर क्षेत्रका नागरिकहरूलाई अब सिधै दिल्ली पुग्न दैनिक सुविधा उपलब्ध हुनेछ,” उहाँले भन्नुभयो, “यसले समय र खर्च दुवै बचत गर्नेछ।”
त्यस्तै, बाँके र बर्दिया क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत यस सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। Banke National Park र Bardiya National Park लगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी भारतीय पर्यटक भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार सिधा बस सेवाले सीमा क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ।
कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष तथा बस व्यवसायी रवि मल्लका अनुसार करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न बस तयारी अवस्थामा रहेको छ। बसमा ४५ वटा लग्जरी एसी सिट र ४ वटा स्लिपर सुविधा रहेको जानकारी दिँदै उहाँले यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको बताउनुभयो। बस पूर्ण रूपमा वातानुकूलित (एसी) रहेको छ भने आरामदायी ‘भिआइपी सोफा सिटर’ सहितको सुविधा उपलब्ध गराइएको छ।
उक्त सेवा सुरु भएसँगै व्यापारी, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा सहजता पुग्ने विश्वास गरिएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाले अब सिधै कोहलपुर–नेपालगन्जबाट दिल्लीसम्म यात्रा गर्न पाउने भएपछि यातायात क्षेत्रमा नयाँ विकल्प थपिएको छ।
सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा प्राविधिक तयारी पूरा भइसकेको व्यवसायीहरूले जानकारी दिएका छन्। सेवा छिट्टै नियमित तालिकासहित सञ्चालनमा ल्याइने जनाइएको छ।


