बाँके, बैशाख ४ गते । एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा जेबिएम फुटबल एकेडेमी लखनउ, भारत प्रवेश गरेको छ । खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोट्र्स क्लव बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरामा जारी प्रतियोगितामा जेबिएनका जर्सी नम्बर ७ का निखिल तामाङले खेलको १२ औ मिनेटमा टिमको लागि पहिलो गोल गर्न सफल बने । यसैगरी जेबिएनकै ९ नम्बर जर्सिका सुरज भण्डारीले ४३ औ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६० औ मिनेटमा तेस्रो गोल गरे । गोर्खाका जर्सी नम्बर १५ का सुजन थारुले सान्त्वना गोल गरे । दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएनले सम्हालिएर खेल्दै अग्रता जोगाउन सफल भयो । गोर्खाका जर्सी नम्बर २१ का उमेश थापा पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । जेबिएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित भए । गोलरक्षक उमेशले नगद १० हजार सहित ट्रफि, मेडल प्राप्त गरे । यसैगरी दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबिच हुनेछ । प्रतियोगिताको फाईनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, संकटा एफसी, न्यू डाँफे स्पोर्टस् क्लब, जेभिएम फूटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो । प्रतियोगिताको बिजेतालाई सात लाख रुपियाँ र द्वितीयलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा करिव ६० लाख बढि खर्च हुने अनुमान गरिएको छ । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गोल्डकपलाई एमटी एरिनाले टाईटल स्पोन्सर गरेको छ । प्रतियोगितालाई एनसेल, म्याक्स टाइगर लगाएतले सहायता गरेका छन । प्रतियोगितालाई सम्पन्न गराउन गाउँका स्थानियले स्पुर्त रुपमा आर्थिक देखि भौतिक रुपमै लागेर सहयोग गरिरहेको क्लबका उपाध्यक्ष दान बहादुर गुरुङले बताए । शुक्रबार सन्चालन भएको खेल हेर्न र खेलाडीलाई होसला प्रदान गर्न चर्चित गायक बर्दि पंगेनी पुगेका थिए । गायक पंगेनीले अहिले चर्चामा रहेको झ्याप्पै आइन मगर्नि बोलको गित प्रस्तुत गरेका थिए । पंगेनीको गितमा स्थानियले नाँचेर साथ दिए ।


