मित्रलाल शर्मा
सबैभन्दा पहिला आँफुलाई भन्नुस् अनि बल्ल अरूलाई | हामी वैदिक-सनातन धर्म, संस्कृति र सभ्यताहरूका अनुयायीहरूको धेरैजसो समय इसाई, मुस्लिम तथा साम्यवादी, पूँजीवादी, प्रजातान्त्रिक, समाजवादी तथा आइएजिओलाई सत्तेसराप गर्दैमा जान्छ |
बरू, आफ्नो धर्म, संस्कृति तथा विशिष्टताहरूका विषयमा सप्रामाण नेपाली, अंग्रेजी, हिन्दी तथा अन्य नेपाली तथा विदेशी भाषामा बताउँन सके धेरै प्रगति उन्नति गर्ने थियौं | सन्दर्भमा उल्लेख गर्नु एउटा कुरा हो तर जतिखेर पनि आफ्नो भन्दा उनीहरूको निन्दामा समय र उर्जा खर्च गर्नु त अलि बढी नै भएन र ?
हाम्रो घरका हरेक सदस्यलाई कमसेकम पनि ऋग्वेद, उपनिषद्, श्रीमद्भगवत-गीता र पाणिनीका केही प्रमुख श्लोक र सूत्रहरू कण्ठ हुनुपर्छ | घरमा गीता राख्नु राम्रो हो तर गीता राखेर एउटा श्लोक पनि नजान्नु र नपढ़नु लज्जास्पद हो | तेसैले गीता राखौं र पढौं पनि |
कसलेकस्तो लुगा लगाउँछ र कसरी लगाउँछ त्यो सम्वन्धित व्यक्तिको रूचिको विषय हो | धोतिकुर्ता वा दौरासुरुवाल लगाउँदैमा कुनै व्यक्ति ज्ञाता र अज्ञाता हुँदैन | मुख्यकुरा हाम्रो सिकाईमा हुन्छ | यदि हामीले आफ्नो धर्म, संस्कृति तथा संस्कार सिकेका छैनौँ र सिकाउँदैनौं भने स्वधर्म र संस्कृतिको रक्षा गर्ने “नाटक” वन्द गरे हुन्छ | वेदले आँफैलाई पढ्ने होइन वेदलाई हामीले पढ्ने/बुझ्ने र मनन गर्ने हो |
मुस्लिमहरूले आफ्नो धर्म-संस्कृतिको शिक्षा प्रदान गर्न कुनै कसर छोड्दैनन् | इसाईहरूले पनि आफ्नो धर्म, संस्कृति र संस्कारका लागि नेपालमैं जेलनेल भोगिरहेका छन् | विदेशीको डलर खाएर नेपालीको जरोकिलो उखेल्ने सङ्कल्प लिएका डोरवहादुर र गोपाल गुरुङका चेलाहरू पनि लागिनै रहेका छन् | हामी भने उनीहरूले “विगारे” भन्दै भाषण ठोक्न व्यस्त छौँ | मनुस्मृतिले भनेको धर्म र अहिले हामीले बोल्ने गरेको एउटा होइन भनेर सर्वसाधारणलाई बुझाउँन सकिरहेका छैनौं |
हामी सबैलाई थाहा छ, नेपालका राजनीतिज्ञहरूलाई पनि थाहा छ, विदेशीहरूलाई पनि थाहा छ वैदिक, बौद्ध, जैन-संस्कृतिमा ज्ञान, विज्ञान र अध्यात्मको अथाह भण्डार छ | विदेशीहरूले यिनै वस्तुहरूलाई “अंग्रेजी”मा प्याकेजिंग गरेपछि हामी अनुयायी बन्छौं | यदि मैले, तपाईंले वा नेपाली सर्वसाधारण अथवा गुरूहरूले नेपाल र नेपाललाई भौतिकमात्र होइन आध्यात्मिक उन्नतिको मार्ग कोरेर स्वीकार गर्न अनुरोध गर्यौं भने पटक्कै टेर्दैनौं | चिल्ला गाडी चढ्ने, आफ्नो जयजयकार गर्ने भाडाका लस्कर लिएर हिड्ने, ठूलो पेट भएका, बडो चतुरतापूर्वक बोल्ने र नेपालको सम्पति कुम्ल्याएर लैजाने “पारिका” वाबाजीमा बढी विश्वास गर्छौं |
योगी नरहरिनाथ, प्रपन्नाचार्य, नयनराज पन्त, कुलचन्द्र गौतम, सुकृतिदत्त पन्तका अनुसन्धानप्रति हाम्रो कुनै श्रद्धा छैन न यी महापुरुषहरूका विषयमा जानकारी दिने पाठ्यपुस्तक तयार गर्न स्थानीय र केन्द्रीय सरकारलाई दवाव दिन्छौं | अव हामीले इसाई-मुस्लिम र धर्मपरिवर्तनकारी शक्तिहरूको प्रतिरोध गर्न स्थानीय सरकारहरूलाई मौलिक भाषा-संस्कृतिको विकास गर्ने शिक्षाको व्यबस्था गर्न दवाव दिनुपर्छ |
नेपालका हरेक गाउँ, टोलमात्र होइन पोखरी, चौपारी, धारा, मन्दिर-मौलो, गुफा, बाटो सबैको सम्बन्ध सनातनवैदिक संस्कृतिसंग छ | हरेक पाटीपौवाले हाम्रा पूर्खाको पुरुषार्थ बखान गर्छन् | शङ्कर-पोखरी होस् वा ठूलो चौतारी सबैले दान र परोपकार संस्कृतिको प्रतिनिधित्व गर्छन् | अव हाम्रो ध्यान डोजर-संस्कृतिलाई प्रतिरोध गर्न पनि केन्द्रीत हुनुपर्छ | हाम्रो आफ्नै इतिहास मासेर विनाशकारी विकासको आवश्यकता छैन | हरेक विकास हाम्रो धर्म, संस्कृति, इतिहाससंग मित्रतापूर्ण हुनुपर्छ |