काठमाडौं, भदौ ३ : राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नवगठित एमाले समाजवादी पार्टीसँग नयाँ सम्भावनाको ढोका देखाए। ७० वर्ष कटेका नेताहरूले अब देशलाई अग्रगति दिन नसक्ने तर सक्रिय राजनीतिमा होमिएको युवा पुस्तालाई जिम्मा दिने हो भने नयाँ विचार र ज्ञान नेपालले पस्किन सक्ने उनको भनाइ थियो।
डा. भट्टराईको विचार ठ्याक्कै प्रतिविम्बित हुने एउटा तस्बिरले बुधबार अपराह्नदेखि सामाजिक सञ्जालमा चर्चा पाएको छ। युवा नेत्री रामकुमारी झाँक्रीले निर्वाचन आयोग परिसरमा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हात समातेर डोर्याउँदै लैजाँदै गरेको तस्बिरले भविष्यको राजनीतिक परिदृश्यको झल्को दिन्छ। अर्थात्, अब पुरानो पुस्तालाई साथमा लिएर नयाँ विचार र योजनाका साथ राजनीतिको अग्रमोर्चामा खटिन युवा पुस्ता तयार भएको छ। र, डा. भट्टराईले भनेझैँ ७० वर्ष कटेका नेताहरूले अब अभिभावकको भूमिकामा रहेर युवा पुस्तालाई अगाडि बढाउनुपर्ने माग गर्छ, त्यस तस्बिरले।
नवगठित एमाले समाजवादीको भविष्य के होला ? सर्वत्र चासोको विषय बनेको छ यो प्रश्न। ५ पुस ०७७ देखि सतहमा देखिएको तत्कालीन नेकपा र २३ फागुनयता एमालेमा भित्रिएको विभाजनकारी विवादबीच दुईवटा परिदृश्यमा ध्यान दिनु आवश्यक छ।
पहिलो- ०७७ चैत पहिलो साता एमालेको असन्तुष्ट नेपाल-खनाल समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएर नेपाली वाम आन्दोलनको पहिलो पुस्ताले ऐक्यबद्धता जनाएको थियो। पार्टी विभाजन भएर एमाले समाजवादी गठन हुँदासम्म पहिलो पुस्ताका नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, कमल कोइराला, सिद्दीलाल सिंह र बद्रीप्रसाद खतिवडाले एमाले अध्यक्ष केपी ओलीले निरन्तर चालिरहेका कदमहरूको समर्थन गरेका छैनन्। अध्यक्ष ओलीको स्वभाव र कार्यशैलीबारे सांगोपांगो जानकारी राख्ने उनीहरूले ओलीलाई समर्थन गर्ने पनि छैनन्। स्वाभाविक हो- उनीहरूको आशिर्वाद नेपाल नेतृत्वको एमाले समाजवादीले पाउने छ। र, नेपाली वाम आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन योगदान दिएका उनीहरूको आशिर्वादको ठूलो मूल्य छ। र, उनीहरू सक्रिय राजनीतिमा छैनन् तर पहिलो पुस्ताकै माधवकुमार नेपाललाई उनीहरूको आशिर्वाद रहने सम्भावना नै बलियो छ।
वाम आन्दोलनको दोस्रो पुस्ताले पार्टी विभाजनको विन्दुमा नेपालको साथ छाडिदियो। दोस्रो पुस्ताका डा. भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य तत्कालीन परिस्थितिमा नेपालको साथमा रहेनन्। तेस्रो पुस्ताका योगेश भट्टराई र गोकर्ण बिष्टले पनि नेपालको साथ छोड्नुमै आफ्नो हित देखे। उनीहरूको अनुपस्थितिको मूल्य कति चुकाउनुपर्ला त नेपालले ? एमाले समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईको विश्लेषणमा भूगोल अर्थात् जिल्ला र स्थानीय तहमा उनीहरूको अनुपस्थितिले खासै ठूलो प्रभाव पार्ने छैन। किनकि, पार्टीभित्र लामो समय विवाद चलेकाले माथिदेखि तलसम्मै चिरा परेको छ। खासगरी, भूगोलबाट नेपाललाई साथ दिँदै आएका नेता-कार्यकर्ताले उनलाई निरन्तर साथ दिनेछन्।
‘अहिले कुनै पुराना पार्टीले गरेका कामप्रति जनमानसमा सन्तुष्टि छैन। जनताले नयाँ विकल्पको खोजी गरेकै छन्,’ राई भन्छन्, ‘कम्युनिस्ट विचार, सिद्धान्त राम्रो हो। त्यसको कार्यान्वयन गर्न केपी ओली नेतृत्वको सरकार असफल रह्यो। आगामी दिनमा आफ्ना विचार र कार्यक्रमलाई कार्यान्वयन गर्छौँ भनेर जनतामा जान्छौँ।’
नेपालमा कम्युनिस्टको जनमत बलियो रहेकाले जनतामा विश्वास दिलाउन सकियो भने संगठनको बलियो आधार तयार हुने राईको विश्लेषण छ। दोस्रो- विचार मिल्ने वामपन्थी दलबीच एकताको विषयमा अगाडि बढ्ने एमाले समाजवादीको सोच देखिन्छ। तत्काल चुनावी सहकार्य, कार्यगत एकताका लागि माओवादी केन्द्रसँग संवाद अगाडि बढ्ने सम्भावना राई औँल्याउँछन्। ‘विचार मिल्ने पार्टीसँग चुनावमा सहकार्य हुन्छ। पछि हामी पार्टी एकता नै गरेर जान्छौँ,’ राई भन्छन्। मोहन वैद्यदेखि नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वका पार्टीहरूसँग चुनावी सहकार्यदेखि पार्टी एकतासम्मका सम्भावनाको खोजी गरिने उनको भनाइ छ।
त्यसैले रावल, भुसाल, पाण्डे, आचार्य, योगेश भट्टराई र बिष्टको अनुपस्थिति माथिल्ला तहमा मात्र खड्किने र भूगोलमा ठूलो प्रभाव नपर्ने उनको बुझाइ छ। ‘विवाद लामो समय चलेकाले तल्लो तहसम्म पानी बाराबारको स्थिति छ र तल्लो तहका नेता-कार्यकर्ता ओली नेतृत्वको एमालेमा रहने अवस्था छैन। उनीहरू पार्टी एकता नभए अन्य दलमा प्रवेश गर्ने मनस्थिति बनाउँदै थिए। त्यसको विकल्प हामीले दियौँ,’ राई भन्छन्, ‘भूगोलमा कित्ताकाट भइसकेकाले दोस्रो र तेस्रो पुस्ताका केही नेता नआउँदैमा हामीले फरक पर्नेवाला छैन।’
त्यसो त, राजनीतिक इतिहासका हिसाबबाट पहिलो पुस्ताका नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. वेदुराम भुसालको साथ छ, एमाले समाजवादीलाई। यस्तै, दोस्रो पुस्ताका राजेन्द्रप्रसाद पाण्डे, डा. विजय पौडेल,, डा. गंगाधर तुलाधर, प्रकाश ज्वाला, धनेन्द्र बस्नेतलगायत नेता नयाँ पार्टीमा आबद्ध भएका छन्।
तेस्रो पुस्ताका विरोध खतिवडा, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, राजेन्द्र राई, मेटमणि चौधरीलगायत नेता पनि नयाँ दलमा आबद्ध छन्। त्यसपछि पालो आउँछ, रामकुमारी झाँक्रीलगायत नेताको, जो वाम आन्दोलनको चौथो पुस्ता हो। यही पुस्तामा एमाले समाजवादीका अध्यक्ष नेपालको बढी भर देखिन्छ।
एमालेका ५८ जना केन्द्रीय सदस्य र ३३ प्रतिशत महिला समेटेर एमाले समाजवादीले निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरूको नाम बुझाएको छ। खासमा, केन्द्रीय समिति बन्दै बाँकी छ। र, त्यसको संख्या दुई सय तीनदेखि दुई सय ४१ सम्म हुने अनुमान छ।
एमालेको केन्द्रीय युवा तथा खेलकुद विभाग सचिव रहिसकेका बर्दियाका प्रभावशाली नेता दामोदर अर्यालको भनाइमा राजनीतिमा पाइला चाल्दै गरेका युवा पुस्ताको प्रभावशाली उपस्थिति रहने छ नयाँ पार्टीमा। र, जिल्ला-जिल्लामा यसअघि नै गठन भएका समानान्तर कमिटीहरूको आधार तयार भइसकेको छ। ‘अहिले धरमर देखिएका केही नेता सांसद छन् र केपी ओलीतिर लाग्दा प्रदेशमा मन्त्री बन्न पाइने लोभमा देखिन्छन्,’ अर्याल भन्छन्।
कम्युनिस्ट पार्टीमा लाभको पद लिएर कतै लाग्दा त्यसलाई सैद्धान्तिक आवरण दिने प्रयास हुनु नौलो विषय होइन। जस्तो- वागमतीको मुख्यमन्त्री बन्ने भएपछि नेपालको साथ छाडेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘पार्टी एकता’को सैद्धान्तिक आधार दिएकी छन्।
नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिएका डा. भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टले पनि पार्टी एकता र १० बुँदे कार्यान्वयनको सैद्धान्तिक आधार दिएका छन्। तथापि, उनीहरूले पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीको पूर्ण समर्थन गरेको पाइँदैन। बिहीबार अपराह्न सामाजिक सञ्जालमा भुसालले लेखेका छन्, ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता-सिद्धान्तहीनताबाट सुरु भएको हो। कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो। त्यसमा पनि इमानदार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदैछौँ। जति धेरै बेइमानी त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ।’ अर्थात्, उनीहरू एमालेभित्र रहेर अध्यक्ष ओलीविरुद्ध सैद्धान्तिक लडाइँ जारी राख्ने मनस्थितिमा छन्। पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नरहेको उनीहरूले बताउने गरेका छन्।
आफू निकटस्थ नेता-कार्यकर्तासँग उनीहरूले भन्ने गरेका छन्, ‘माधव नेपालले पार्टी विभाजन गरेर हतार गर्नुभयो। हामी १० बुँदे लागू गराएरै छाड्छौँ। हामी केपी ओलीसँग होइन, एमालेमा रहने हो।’ उनीहरूलाई नयाँ पार्टीतिरै धकेल्ने अध्यक्ष ओलीको एक मात्र अस्त्र हो, १० बुँदे लागू गर्दिनँ भनेर स्पष्ट गर्नु। तथापि, एमाले स्थायी समिति र केन्द्रीय कमिटीले १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय गरिसकेका छन्।
एमाले समाजवादीको युवा संघ नेपालका सचिव विकास ज्ञवाली माधवकुमार नेपालको सबलता भनेको नैतिक धरातल हो। र, घरेलु र अन्तर्राष्ट्रिय समुदायसँगको ‘ट्रस्ट’ पनि उनको अर्को सबल पक्ष हो। ‘त्यही विश्वासका कारण पनि आफू नयाँ अभियानमा असफल नहुने बुझाइ उहाँमा देखिन्छ। र, बृहत वाम लोकतान्त्रिक गठबन्धनमा जाने उहाँको योजना देखिन्छ,’ ज्ञवालीले भन्छन्, ‘आफ्नो सबैभन्दा ठूलो स्ट्रेन्थ यही भएको बुझाइ उहाँमा छ र अन्ततोगत्वा बृहत वाम एकताको एजेन्डामा उहाँ अगाडि बढ्नुभएको छ।’
पार्टीमा पुस्तान्तरणको मुद्दामा नेपाल सफल बने भने त्यो सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ हुने ज्ञवालीको विश्लेषण छ। ‘एमाले समाजवादीमा वाम आन्दोलनको चौथो पुस्ता सीधै पदाधिकारी बन्ने सम्भावना छ,’ उनी भन्छन्, ‘यो पंक्तिले अवसर पाउने भयो। त्यसभन्दा अगाडिको तेस्रो पुस्ताका नेताहरू, जसले एमालेमा अवसर पाएका थिएनन्, उनीहरूले पनि अवसर पाउने भए।’
दोस्रो पुस्ताका डा. विजय पौडेल, तेस्रो पुस्ताका जगन्नाथ खतिवडा र राजेन्द्र राईले एमाले समाजवादीमा पदाधिकारी बन्ने अवसर पाउँदैछन्, जसले एमाले स्थान पाएका थिएनन्। चौथो पुस्ताकी रामकुमारी झाँक्री पनि पदाधिकारी बन्ने सम्भावना कमजोर छैन। त्यसको अर्को पाटो पनि छ। एमालेमा पुस्तान्तरण नहुँदा अवसर नपाएका नेताहरूले एमाले समाजवादीमा अवसर पाउँदै छन्। तर, अब आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती उनीहरू सामू देखिन्छ। त्यसैले अब उनीहरूले एमालेले लिइआएका दृष्टिकोण, अभ्यास र व्यवहार छाड्दै वैकल्पिक धारको जनताको आशालाई ‘क्यास’ गर्न सक्नुपर्नेछ।