१९ औं राष्ट्रिय धान दिवसका अवसरमा बैजनाथ गाउँपालिकामा धान रोपाइ महोत्सवको आयोजना गरेर धान दिवस मनाइएको छ ।बैजनाथ गाउँपालिका कृषि शाखाको आयोजना तथा मिलिजुली कृषक समुह तथा प्रगति आईपिएम कृषक समुह बैजनाथ ३ नौवस्ताको सह आयोजना तथा व्यस्थापनमा संचालन गरिएको सो रोपाइ महोत्सवमा बोल्दै बैजनाथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बेजनाथ गाउापालिकामा ७० प्रतिशत मानिसहरु कृषि पेशा गरिरहेकोले यस पटकको बजेटमा करिब ६ करोड रुपैया कृषि क्षेत्रमा विनिजयोजन गरिएको बताए । उनले नक्कली किसा नबनेर फाइदा लिने प्रवृतिको अन्त्य गरी अबदेखी वास्तविक किसानहरुलाई पहिचान गरी राहत तथा अनुदान दिइने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले अवको कृषि प्रणाली आधुनिकीकरण र यन्त्रीकरण गर्नुपर्ने आवश्यकता औल्याउदै बैजनाथमा किसानहरुको वर्गीकरण गरी किसान परिचय पत्र वितरण गरिने बताउनुभयो ।
त्यस्तै जिल्ला कृषि सहकारी संस्थाकी अध्यक्ष एकता शाहले किसानहरुको स्तरलाइ अझ माथी उठाउन सकिएमा कृषि जन्य पदार्थ आयत गर्न नपर्ने र यसबाट राज्यको कोष बचत हुने बताइन। त्यसका लागी स्थानीय सरकारले कृषिलाई प्राथामिकता दिनुपर्नेमा जोड दिइन। बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बैजनाथ गाउँपालिकाले कृषिमा यान्त्रीकरण गर्न आर्थिक वर्ष २०७९÷०८० का लागी करिब ४० लाख किसानसँग पालिका प्रमुख रु ३ करोड रुपैया विनियोजन गरिएको बताउनुभयो ।
रोपाई महोत्सवका अवसरमा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीहरुले बैजनाथ ३ मा खेतमा रोपाइ समेत गरेका थिए । बैजनाथ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक प्रेम बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न. ३ का वडाध्यक्ष निखिल बैगार,वडा नं ६ का वडाध्यक्ष भुपाल पुन कार्यपालिका सदस्यहरु कर्मचारी लगायतको सहभागीता रहेको थियो ।