सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अनुसार बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि गरेको छ ।
भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने र अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने शर्माले जानकारी दिएकी हुन् ।
छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आजको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको छ।