बर्दिया:बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकालाई जोड्ने बबई नदि जब्दीघाटमा पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको पुल २०७४ साल साउन २९ गते निर्माण सम्पन्न नहुँदै भासिएको थियो। पुलका १६ पिलर भासिएपछि स्थानीय बासिन्दाले जोखिम मोलेर आवतजावत गर्दै आएका थिए। २०७९ सालको बाढीले उक्त पुल पूर्ण रूपमा भत्काएपछि हालसम्म स्थानीयलाई आवतजावत गर्न ठप्प भएको छ।
हाल, अर्थ मन्त्रालयले एक अर्ब एक करोड २९ लाख रुपैयाँ बजेट सुनिश्चित गरेपछि नयाँ पुल निर्माण प्रक्रिया सुरु हुने भएको छ। सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टका अनुसार, स्रोत सहमति प्राप्त भएसँगै लागत अनुमान स्वीकृतिको प्रक्रिया अगाडि बढाइने र एक महिनाभित्र टेन्डर प्रक्रिया सुरु हुनेछ।
पुल नहुँदा स्थानीय बासिन्दाले बारबर्दिया नगरपालिका–११ स्थित जब्दीघाटमा रहेको काठेपुल प्रयोग गर्दै आएका छन्। बारबर्दिया नगरपालिकाले उक्त काठेपुलबाट आवतजावत गर्ने व्यक्तिहरूबाट शुल्क लिने व्यवस्था गरेको छ। पुल पार गर्दा पैदल यात्रुहरूले १० रुपैयाँ तिर्नुपर्छ भने सवारी साधनका लागि थप शुल्क लाग्छ।
स्थानीय बासिन्दाहरूले पुल नहुँदा सदरमुकाम गुलरिया पुग्न बर्सातमा डुंगाको सहारा लिनुपरेको र हिउँदयाममा काठेपुल प्रयोग गर्दा शुल्क तिर्नुपरेको गुनासो गरेका छन्। नयाँ पुल निर्माणपछि बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका प्रत्यक्ष रूपमा जोडिनेछन्, जसले स्थानीयहरूको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। बारबर्दिया नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागी कुल २२ लाखमा घाट उत्राही बापत नगरपालिकाले ठेकेदार बाट राजश्व लिने गरेको छ।बजेट सुनिश्चित संगै बैकल्पिक बाटो तयार गरेर पुल निर्माण गर्न संघीय सरकार सडक डिभिजन कार्यालयले टेन्डर गर्ने तयारी गरेको जानकारी बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारुले जानकारी दिनुभयो ।