Wednesday, July 2, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाशिक्षाको गुणस्तर वृद्धि गर्न सक्रिय शिक्षा प्रमुख ढकाल

शिक्षाको गुणस्तर वृद्धि गर्न सक्रिय शिक्षा प्रमुख ढकाल

कुशल दलामी,
बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ हालै विद्यालय अनुगमन तथा समन्वय प्रक्रियालाई थप तिव्रता दिएको छ। गाउँपालिकाको शिक्षा शाखाले माध्यमिक विद्यालयहरूमाथि निरन्तर अनुगमन गर्दै सिकाइ अनुभव आदान–प्रदान, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, विद्यार्थीको उपस्थिति, पाठ्यपुस्तकको उपलब्धता, सिकाइ नतिजा लगायतका पक्षमा गहिरो मूल्याङ्कन सुरु गरेको हो।

शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद ढकालका अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर शिक्षण सिकाइको अवस्थाबारे जानकारी लिने, सुझाव संकलन गर्ने र आगामी शैक्षिक योजना तर्जुमा गर्ने कार्य अघि बढाइएको छ। उनले भने, “हामीले अहिले विद्यालयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको भौतिक र शैक्षिक आवश्यकताको मूल्याङ्कन गरिरहेका छौं।”

देशभर सार्वजनिक भएको एसईई नतिजामा बैजनाथका सामुदायिक विद्यालयहरूको नतिजा सुधारोन्मुख देखिएको छ। यसले शिक्षकमाझ थप हौसला थपेको छ भने विद्यालय प्रशासनलाई शैक्षिक प्रतिबद्धता बढाउन उत्प्रेरित गरेको छ। शिक्षा शाखाले यस्तो उपलब्धिमा सामुदायिक विद्यालयको सक्रियता, शिक्षकको परिश्रम र अभिभावकको सहयोगलाई मुख्य कारक मानेको छ।

बैजनाथ गाउँपालिकाले हालै सार्वजनिक गरेको पाँच वर्षीय शैक्षिक योजनामा विद्यालय मर्ज, शिक्षक मिलान, प्रविधिको प्रयोग, अभिभावक-विद्यार्थी-शिक्षक त्रिकोणीय समन्वय, तथा स्थानीय आवश्यकता अनुसारको शिक्षाको समावेश गरिएको छ। विशेषगरी सीपमुखी तथा प्राविधिक शिक्षालाई जोड दिइएको छ, जसबाट स्थानीय युवाहरुलाई रोजगारीसँग जोड्न सकिने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको छ। “हामी शिक्षालाई विकासको मेरुदण्ड मान्छौं, त्यसैले गुणस्तरीय शिक्षा दिन गाउँपालिका प्रतिबद्ध छ”, अध्यक्ष शाहीले बताउनुभयो।

शिक्षा शाखाले आगामी दिनमा शिक्षक अभिमुखीकरण, विद्यार्थीलाई मनोपरामर्श सेवा, तथा डिजिटल शिक्षण प्रविधिको प्रयोगमा जोड दिने योजना पनि अघि सारेको छ। साथै, स्थानीय समुदायलाई विद्यालयप्रतिको दायित्वबोध गराउन अभिभावक भेला समेत सञ्चालन गरिने शिक्षा प्रमुख ढकालले जानकारी दिनुभयो ।

बैजनाथ गाउँपालिकाको यस्ता पहलहरुले स्थानीय स्तरमै शिक्षाको गुणस्तर सुधार गर्दै गाउँपालिका स्तरमै आदर्श शैक्षिक मोडल प्रस्तुत गर्ने सम्भावना बढाएको छ। यसले स्थानीय युवामा ज्ञान, सीप र रोजगारीको सम्भावना थप बलियो बनाउने प्रभात नमूना माध्यमिक विद्यालयका बि ब्य स अध्यक्ष दल बहादुर सुनारले बताउनुभयो।

मंगलबार सरस्वती माध्यमिक विद्यालय बैरहवा,नेरामाबी नौवस्ता,जनता आदर्श माध्यमिक विद्यालय डिगिया,भगवान माध्यमिक विद्यालय हसनापुर,प्रभात नमूना माध्यमिक विद्यालय जि गाउँ र नेरामाबी पेडारीका विद्यालयहरुको अनुगमन गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments