बाँके, बैजनाथ — भेरी फ्युचर स्टार ई. मि. स्कुल, बैजनाथ–५ बनकटुवाले शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बधाई दिने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयले लगातार दोस्रो वर्ष एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। गत वर्षको जस्तै यस वर्ष पनि सबै विद्यार्थीहरू सफल भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।
उक्त अवसरमा विद्यालयका प्रबन्ध निर्देशक थोमस ताम्राकार, संचालन समिति उपाध्यक्ष नन्द घर्ती मगर, प्रधानाध्यापक फिलिप्स ताम्राकार लगायत शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक यात्रा अझ सफल होस् भन्ने कामना गरे।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रबन्ध निर्देशक थोमस ताम्राकारले यस्तो उत्कृष्ट नतिजा सम्भव बनाउनमा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
भेरी फ्युचर स्टार ई. मि. स्कुलले आगामी दिनमा शिक्षाको गुणस्तर अझ बढाउँदै विद्यार्थीहरूको समग्र विकासमा ध्यान केन्द्रित गर्ने योजना बनाएको समेत जानकारी गराइएको छ।
विद्यालयले नियमित रूपमै यस्ता कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै आएको छ, जसले विद्यार्थीहरूमा आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्नेछ।