– बैजनाथ, बाँके
बैजनाथ गाउँपालिका वडा नं. ६ अन्तर्गतको लालपुर पाल्लागाउँ र २८ घर टोल क्षेत्रका बासिन्दालाई सहज र सुरक्षित यातायात सुविधा पुर्याउने उद्देश्यले कालोपत्रे सडक निर्माणको तयारी थालिएको छ।
सडक विस्तारका लागि आवश्यक नापजाँच तथा प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेका छन्। उक्त कार्यको निरीक्षण तथा योजना तयारीको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, वडा अध्यक्ष भुपाल पुन मगर, वडा सदस्य पानसरा सुनार, योजना प्रमुख डोटी नेपाली, इन्जिनियर धर्मेन्द्र आचार्य, भूतपूर्व सैनिक संगठन नेपाल बैजनाथ अध्यक्ष भक्त बोहोरा लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार कच्ची अवस्थामा रहेको लालपुर बिक्रम ओलीको घरदेखि पाल्लागाउँ जाने सडक र २८ घर टोल क्षेत्र हुँदै गडरही चोकसम्म जोडिने सडक कालोपत्रे गरिनेछ। उनले नापजाँच सकिएसँगै लागत अनुमान (स्टिमेट) तयार गरेर ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए।
वडा अध्यक्ष भुपाल पुन मगरले सडक नापजाँच कार्य बुधबार सम्पन्न भएको र निर्माण कार्य शीघ्र सुरु गरिने बताए। “स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको हो,” उनले भने।
स्थानीय सरकारले हालका दिनमा गाउँपालिकाभित्रका अन्य सडकहरू पनि कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेको छ। यस योजनाबाट गाउँमा यातायातको सुविधा सहज हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।