नेपालगन्ज भदौ २९– जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण कोहलपुर नगरपालिका वडा नं. ९ को कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट सिङ्गो कार्यालय संरचना, कागजात तथा सामग्रीहरू जलेर नष्ट भएपछि सेवाप्रवाहमा ठुलो अवरोध उत्पन्न भएको थियो ।
वडावासीलाई अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न कठिन भइरहेको अवस्थामा, कोहलपुरस्थित एस.एस. फर्निचर अर्डर एण्ड सप्लायर्सले वडा कार्यालयको पुनः सञ्चालनमा सहजीकरण गर्न कार्यालय प्रयोजनका लागि आवश्यक फर्निचर सहयोग गर्ने घोषणा गरेका छन् ।
एस.एस. फर्निचरका सञ्चालकले स्थानिय निकायप्रति सहानुभूति व्यक्त गर्दै यस कठिन परिस्थितिमा आफूहरू सामूहिक सहयोगका लागि सधैं तत्पर रहेको जनाएका छन् । उनका अनुसार छिटोभन्दा छिटो सेवा सुचारु होस् भन्ने उद्देश्यले आवश्यक टेबल, कुर्सी, आलमारी लगायतका सामग्रीहरू निःशुल्क उपलब्ध गराइनेछ ।
वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले र अन्य जनप्रतिनिधिहरूले यस्तो सहयोगले कार्यालय सेवा छिटो सञ्चालनमा ल्याउन ठुलो टेवा पुग्ने बताएका छन् । उनीहरूले एस.एस. फर्निचरप्रति धन्यवाद व्यक्त गर्दै निजी क्षेत्र र स्थानिय सरकारबीचको सहकार्यको यो उत्कृष्ट उदाहरण भएको बताए ।
स्थानिय नागरिक तथा सेवाग्राहीहरूले पनि यो सहकार्यको स्वागत गर्दै आगलागीपछिको कठिन परिस्थितिमा यस्तो सहयोगले राहत मिलेको प्रतिक्रिया दिएका छन् । कार्यालयको सेवा सुुविधा दुई तिन दिनमा संचालन हने अध्यक्ष योगीले बताए ।