नेपालगन्ज भदौ २९ — भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा समाचार संकलनमा खटिएका सम्वेगन्यूज डटकमका पत्रकार निरज निश्चलमाथि आन्दोलनकारीले कुटपिटका साथै उनले प्रयोग गर्दै आएको क्यामेरा खोसेर आगजनीसमेत गरिएको छ ।
नगरपालिका भवनको वरिपरि भइरहेको तोडफोड, आगजनी र प्रदर्शनको विवरण संकलन गरिरहेकै बेला आक्रोशित आन्दोलनकारीको एक समूहले उनीमाथि हातपात गर्दै क्यामेरा खोसेर जलाइदिएको हो ।
झण्डै ८-९ जना प्रदर्शनकारीबाट घेराबन्दीमा परेका पत्रकार निश्चल ज्यान जोगाउन नगरपालिका भवनभित्र पसेका थिए । तर केहीबेरमै सोही भवनमा पनि आगजनी भएपछि उनले पछाडिको छतबाट हामफालेर ज्यान बचाउनु परेको थियो ।
“म सूचना दिन र सत्य तथ्य समाचार र भिडियो संकलन गर्न फिल्डमा थिएँ, तर मलाई नै निशाना बनाइयो,” पत्रकार निश्चलले भने, “त्यस बेलाको अवस्था यस्तो भयावह थियो कि बाँच्ने आशा पनि गुमेको थियो ।
आन्दोलनको क्रममा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघले सो घटनालाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षा माथिको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ। महासंघले दोषी पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसमक्ष माग पनि गरेको छ।
कोहलपुरमा जेनजी आन्दोलनका नाममा विभिन्न सरकारी तथा गैर-सरकारी संरचनामा तोडफोड, आगजनी र अराजक गतिविधि बढिरहेको बेला पत्रकारहरू झनै असुरक्षित बन्दै गएका छन् ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आक्रमण गरेर भत्काउने प्रयास गरिएको छ, जुन लोकतान्त्रिक मूल्य र मान्यताविपरीतको कार्य हो”, ।
महासंघले आन्दोलनको नाममा अराजक गतिविधि नदोहोरिन आग्रह गर्दै, यस्ता घटनाले पत्रकारहरूको मनोबल कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई जोखिममा पार्ने चेतावनी पनि दिएको छ ।


