बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटअन्तर्गत सञ्चालन गरिएको “किसानसँग पालिका प्रमुख” कार्यक्रममार्फत गाई तथा भैँसीपालक किसानहरूलाई पूर्ण अनुदानमा रबर काउम्याट वितरण गरिएको छ।
पशुपालनलाई व्यवस्थित, सुरक्षित र उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। गोठमा प्रयोग हुने रबर काउम्याटले पशु बस्ने स्थान सफा राख्न, चिप्लिन नदिने, चोटपटकको जोखिम घटाउने तथा दुग्ध उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास गाउँपालिकाले लिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुखले किसानको आयआर्जन वृद्धि, पशु स्वास्थ्य सुधार र आधुनिक पशुपालन प्रविधिको प्रयोगलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताए। उनले किसानको समस्या र आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझेर योजनाहरू कार्यान्वयन गरिँदै आएको उल्लेख गरे।
लाभग्राही किसानहरूले पूर्ण अनुदानमा काउम्याट प्राप्त हुँदा आर्थिक भार घटेको र पशुपालनमा थप हौसला मिलेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिन आग्रहसमेत गरेका छन्।
बैजनाथ गाउँपालिकाले आगामी दिनमा पनि पशुपालन, कृषि आधुनिकीकरण र किसान सशक्तीकरणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।


