नेपालगन्ज पुस २१- कोहलपुर अहिले रंगीन छ । स्टलहरूमा सजिएका स्थानीय उत्पादन, मञ्चमा गुञ्जिरहेका मौलिक गीत–नृत्य र दर्शकको चहलपहलले कोहलपुर महोत्सव २०८२ ले शहरलाई उत्सवमय बनाएको छ । उद्योग वाणिज्य संघ कोहलपुरको नेतृत्वमा स्थानीय सरकार, निजी क्षेत्र र विभिन्न संघ–संस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सव समापनको अन्तिम चरणमा पुगेको छ ।
यस वर्षको महोत्सव मनोरञ्जनमा मात्र सीमित छैन । स्थानीय उत्पादन, कला र संस्कृतिलाई पहिलो प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सवले कोहलपुर र आसपासका क्षेत्रको आर्थिक सम्भावनालाई उजागर गरिरहेको छ । महोत्सव परिसरमा प्रवेश गर्नेबित्तिकै स्थानीय कृषकले उत्पादन गरेका तरकारी, अन्नबाली, दाल, मसला, मह, जडिबुटी तथा परम्परागत खाद्य सामग्रीले आगन्तुकको ध्यान खिच्छन् । उपभोक्तासँग प्रत्यक्ष भेट हुँदा किसान र उद्यमीको अनुहारमा आत्मविश्वास झल्किन्छ ।
बाँके र छिमेकी जिल्लामा उत्पादन भएका हस्तकला, कपडा, बाँस तथा काठका सामग्रीले पनि राम्रो बजार पाएका छन् । साना उद्यमीका लागि महोत्सव बिक्रीस्थल मात्र होइन, बजार बुझ्ने र ग्राहकसँग संवाद गर्ने खुला थलो बनेको छ । “यहाँ आएपछि आफ्नो उत्पादनको वास्तविक मूल्य थाहा हुने उद्यमीहरूले बताएका छन् ।
महोत्सवको अर्को महत्वपूर्ण पाटो हो—संस्कृति । थारु, मगर, मुस्लिमलगायत विभिन्न समुदायको मौलिक संस्कृति झल्किने गीत, नृत्य र प्रस्तुतीहरूले महोत्सवलाई अझ आकर्षित बनाएका छन् । परम्परागत भेषभूषामा सजिएका कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिइरहेको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको चासो बढाउन यस्ता प्रस्तुती प्रभावकारी देखिन्छन् ।
आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अनुसार महोत्सवको उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउने हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा आयातित वस्तुप्रतिको निर्भरता घट्ने र आत्मनिर्भर अर्थतन्त्रको आधार बलियो हुने विश्वास गरिएको जनाइएको छ । यस वर्षको महोत्सवमा पुस्तक प्रदर्शनी कक्षसँगै शैक्षिक तथा पर्यटन प्रवर्द्धनका गतिविधिहरू पनि समावेश गरिएका छन् । स्थानीय तक्षशिला एकेडेमीले शैक्षिक प्रदर्शनी राखेको छ भने टुर एण्ड ट्राभल्स एशोसिएशन (नाट्टा) बाँके ले बाँके राष्ट्रिय निकुञ्जसँगको समन्वयमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त स्टलमार्फत सहुलियत दरमा राष्ट्रिय निकुञ्ज अवलोकनको व्यवस्था गरिएको नाट्टा बाँकेका महासचिव भागिराम वलीले जानकारी दिए ।
महोत्सव परिसरमा निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत मिलाइएको छ । महोत्सवको उप-मुख्य प्रायोजक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले अवलोकनकर्तालाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । महोत्सव अवधिभर निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । साथै कोहलपुर डेन्टल अस्पतालले समेत निःशुल्क दन्त सेवा प्रदान गरिरहेको छ ।
महोत्सवमा बालउद्यान, खेलकुद, प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका छन् । दर्शकको सहजताका लागि सुरक्षा, सरसफाइ र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ ।
समापनको अन्तिम चरणमा पुगेको कोहलपुर महोत्सव २०८२ महोत्सव मात्र नभई स्थानीय सम्भावना, पहिचान र आत्मनिर्भरताको उत्सव बनेको छ ।


