बाँके। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरले नयाँ वर्ष २०८३ सालको पर्यटन प्रवर्द्धनमुखी टेबल पात्रो बिमोचन गरेको छ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीराम सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी मनिकापुर रेडक्रसका सभापति नवराज सापकोटा विशिष्ट अतिथि, उपाध्यक्ष झबी शर्मा, सह–कोषाध्यक्ष लवराज प्रधान लगायत नाट्टा बाँके च्याप्टरका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
नाट्टा बाँके च्याप्टर कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संयुक्त रूपमा शिलबन्दी पात्रो खोली सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले पात्रो छपाइमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, व्यावसायिक प्रतिष्ठान, निजी तथा सरकारी कार्यालयहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रकाशनले पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले पात्रो छपाइदेखि बिमोचनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। साथै, उपस्थित सम्पूर्ण सहभागीहरूबीच नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान समेत गरिएको थियो।
कार्यक्रमको सञ्चालन नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीले गर्नुभएको थियो भने सचिव रेशम बहादुर खत्रीले कार्यक्रमबारे जानकारी दिनुभएको थियो।


