Monday, April 27, 2026
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथमा शिक्षक दरबन्दी मिलान: २४ शिक्षक सरुवा, शैक्षिक गुणस्तर सुधार अभियान तीव्र

बैजनाथमा शिक्षक दरबन्दी मिलान: २४ शिक्षक सरुवा, शैक्षिक गुणस्तर सुधार अभियान तीव्र

“प्रधानाध्यापक व्यवस्थापनदेखि कक्षा १–३ अंग्रेजी माध्यमसम्म—स्थानीय सरकारको शिक्षा सुधारमा बहुआयामिक पहल”
बाँके, बैजनाथ।
बैजनाथ गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित बिहीबार २४ जना शिक्षकको दरबन्दी मिलान तथा सरुवा गरेको छ। गाउँपालिकाले प्र.अ. (प्रधानाध्यापक) मिलानलाई प्राथमिकतामा राख्दै योग्य शिक्षकलाई सम्बन्धित तहमा जिम्मेवारी दिने उद्देश्यले यो कदम अघि बढाएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार सरुवा गरिएका शिक्षकमध्ये ९ जना माध्यमिक तह, ९ जना निम्न माध्यमिक तह र ३ जना प्राथमिक तहका रहेका छन्। योग्यताअनुसार शिक्षकलाई प्रधानाध्यापक बनाउने उद्देश्यले दरबन्दी मिलान गरिएको उहाँले जानकारी दिनुभयो।
गत शैक्षिक सत्र २०८२ देखि स्थायी दरबन्दी नभएका माध्यमिक विद्यालयहरूमा माध्यमिक तहकै शिक्षक सरुवा गरेर दरबन्दी मिलानसँगै प्रधानाध्यापक नियुक्ति प्रक्रिया समेत सम्पन्न गरिएको छ। यसले विद्यालय व्यवस्थापन र पठनपाठनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
बैजनाथ गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको गुणस्तर उकास्न स्थानीय शिक्षा शाखाले निरन्तर रूपमा दरबन्दी तथा तह मिलान गर्दै आएको छ। साथै, आवश्यकताअनुसार विद्यालय मर्ज तथा एकीकरण गर्ने खाका समेत तयार पारिएको गाउँपालिकाले जनाएको छ।
हाल अधिकांश सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यमबाट नर्सरी तथा केजी कक्षासमेत सञ्चालन गर्न थालेका छन्। यसैलाई थप सुदृढ बनाउँदै गाउँपालिकाले शैक्षिक सत्र २०८३ सालदेखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। यस निर्णयले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्ने र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सहज हुने अपेक्षा गरिएको छ।
शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालका अनुसार उहाँको कार्यकालदेखि नै दरबन्दी मिलान कार्यलाई तीव्रता दिइएको हो। साथै, कक्षा ८ को आधारभूत तह परीक्षा गत वर्षदेखि सिसी टिभी निगरानीमा विद्यालय कोड र विद्यार्थी कोड प्रणालीमार्फत सञ्चालन गरिएको थियो। शैक्षिक सत्र २०८२ मा कक्षा ८ को परीक्षा गाउँपालिकाले नै सञ्चालन गरेको थियो भने कक्षा ५ को परीक्षा सम्बन्धित विद्यालयहरूले होम सेन्टरमै लिएका थिए।
त्यसैगरी, ‘विद्यालय फुलबारी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा फुलबारी निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ। विद्यालयको वातावरण सुधार गर्न रंगरोगन, मर्मत, डेस्क–बेन्च निर्माणलगायतका कार्यमा पनि आवश्यकताअनुसार बजेट विनियोजन हुँदै आएको छ।
शिक्षण–सिकाइलाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षक सरुवा तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको शिक्षा शाखाले जनाएको छ। स्थानीय सरकारले शिक्षा नीति निर्माण गरी लागू गरेसँगै शैक्षिक क्षेत्र क्रमशः व्यवस्थित बन्दै गएको प्रमुख ढकालले बताउनुभयो।
स्थानीय तहको सक्रियतासँगै बैजनाथका सामुदायिक विद्यालयहरूमा सुधारका संकेत देखिन थालेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments