नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुषालको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
नेकपा बाँकेका जिल्ला कमिटी सदस्य समेत रहेका कोहलपुर नगरपालिका वडा नम्बर ५, तिनघरुवा बाँके निवासी ५८ बर्षीय नेता भुषालको कोरोना संक्रमणबाट मंगलबार बेलुका नेपालगन्जमा मृत्यु भएको नेकपा बाँके अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
मृतकको कोरोना आशंकामा कात्तिक २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पीसीआर ल्यावमा स्वाब संकलन गरिएको र ३० गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार बिहान ८ बजे मेडिकल कलेज कोहलपुरको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उपचारका क्रममा रोगको प्रकृति अनुसार गरिनुपर्ने एन्टिबायोटिक, अक्सिजन लगायतका आवस्यक सबै उपचार गरिएको, स्वास्थ्य अवस्था बिग्रदै गएपछि थप उपचारका लागि मंगलबार बेलुका ५:१० बजे भेरी अस्पताल नेपालगन्ज ल्याइएको र भर्ना हुने क्रममै ५:१५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यो सङ्गै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।