हुनपनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समिकरण बन्ने संकेतहरु देखिएका छन् । कर्णाली प्रदेशमा काँग्रेस र माओवादीबीच सहमति विकास भएको देखियो । त्यहाँ काँग्रेसले मत दिएर मुख्यमन्त्री शाहीको मुख्यमन्त्री पद जोगाइदिए ।
सत्ता समिकरणका लागि अंकगणितको विश्लेषण गर्दा अब माधवकुमार नेपाल पक्षीय सांसद समेत गन्नुपर्ने भएको छ । संघीय संसदमा नेकपाको १२० सांसद रहेकोमा अब माधव नेपाल पक्षधरको समेत गणना छुट्टै गर्नुपर्ने अवस्था आएको छ ।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेसले निर्णय नै लिइसकेको छ । माओवादी केन्द्र ओलीलाई हटाउन हतारमा छ । जनता समाजवादी पार्टी अंकगणीतको हिसाबकिताब गरेर अलमलमा छ । जसपाले सरकारको नेतृत्वको दाबी गरेको छ । तर, घटना यसरी विकास भएको छ कि अब फ्लोर क्रस हुने अवस्थामा जसपा निर्णायक शक्ति नहुने भएको छ ।
काँग्रेस र माओवादी केन्द्रको गरी प्रतिनिधि सभामा ११० सिट पुग्छ । काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसदले मतदान गर्न पाउछन् । बहुमतका लागि २८ सिट अपुग हुन्छ । नेकपा एमालेभित्र फ्लोर क्रसको निरन्तरता भएमा माधव नेपालका ३० भन्दा बढी सांसद साथमा छन् । उनीहरु नेपालका लागि जस्तोसुकै जोखिम मोल्न पनि तम्तयार छन् ।
ओलीलाई कुनैपनि हालतमा हटाउन काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष सक्रिय भइरहँदा अब फ्लोर क्रसको सम्भावना नकार्न सकिदैन । कुनैपनि बेला काँग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरिहालेमा जसपा अब निर्णायक शक्ति नहुने देखिएको छ । जसपाले ओलीलाई साथ दिएपनि विश्वासको मत लिन कठिन हुने देखिइसकेको छ ।
जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली हटाउने पक्षमा उभिएका छन् । महन्थ ठाकुर ओलीसँग सहमति बनाउन सक्रिय छन् । तर, अब ठाकुरको साथले मात्र ओलीले विश्वासको मत लिनसक्ने या सम्भावित अविश्वासको प्रस्तावको सामना गर्दा सफलता हासिल गर्न सक्ने सम्भावना कमजोर देखिइसकेको छ ।
केन्द्रीय सत्तामा कर्णालीले नयाँ सन्देश दिएको छ । अब सत्ता र देशको राजनीतिमा माधव नेपाल गेम चेन्जरको भूमिकामा आएका छन् । उनले चाल्ने कदमले ओली सत्तामा रहने या नरहने सम्मको अवस्था बन्ने देखिएको छ ।