नेपालगञ्ज भदौ २२-बाँकेको कोहलपुर नगरपालिकाले अब विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ। स्थानीय अभिभावक र समुदायका चासोका कारण पालिकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई कडाईका साथ लागू गर्न थालेको हो । यस अन्तर्गत नगरभित्रका ८८ विद्यालय वरिपरिका क्षेत्रहरूलाई ‘मदिरा र सुर्ती निषेधित क्षेत्र’ घोषणा गरिएको छ ।
नगर उपप्रमुख संगिता सुवेदीले प्रहरी प्रशासनको सहयोगमा अभियानलाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको बताइन् । “विद्यालय हाता भित्र र वरिपरिका ५० मिटर क्षेत्रमा कुनै पनि मदिरा वा सुर्तीजन्य वस्तु बिक्री गर्न पाइने छैन,” उनले भनिन् ।
सार्वजनिक चासो बढ्दै गएको सन्दर्भमा, पछिल्लो समय बालबालिकाले मदिरा, सुर्ती र लागुऔषधको प्रयोग गर्न थालेको गुनासोहरू बढिरहेका छन् । विद्यालय वरिपरि नै यस्ता वस्तु बिक्री हुने गरेको उजुरीपछि पालिकाले कार्यविधि तत्काल लागू गर्न कदम चालेको हो ।
विद्यालयका शिक्षक तथा स्थानीय नेताहरूले यो कदमको स्वागत गरेका छन् । जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले विद्यालय वरिपरिका मदिरा र सुर्तीका पसलहरूले विद्यार्थीहरूमा नकारात्मक असर पारिरहेको भन्दै तत्काल कारबाहीको माग गरे । त्यस्तै, सगरमाथा ज्ञानपुञ्ज माविका प्रधानाध्यापक मोहन चौधरीले विद्यालय वरिपरि कम्तीमा १०० मिटरको परिधिमा यस्ता वस्तुको बिक्रीमा रोक लगाउनुपर्नेमा जोड दिए ।
जन ज्ञानज्योति माविका सहायक प्रधानाध्यापक राम प्रसाद चापागाई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बल बहादुर खड्का अविरल, तथा कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी गैरेले पनि सोही कार्यविधिलाई कडाईका साथ लागू गर्न माग गरेका छन् ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले पनि कार्यविधिको पालना सुनिश्चित गर्न प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताए । यो कदमले नगरका बालबालिकालाई स्वस्थ वातावरणमा शिक्षाको अवसर प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको छ । अब स्थानीय समुदाय, विद्यालय र प्रशासनको सहकार्यले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने देखिन्छ ।


