बाँके:कोहलपुर नगरपालिकाको आयोजनामा फागुन ७ गतेदेखि १३ गतेसम्म प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कोहलपुर-११ शान्तिनगरमा “कोहलपुर उपमेयर कप छात्रा क्रिकेट २०८१” हुने भएको छ।
प्रतियोगितामा १९ वर्षमुनिका छात्राहरू सहभागी हुनेछन्। खेलाडी उत्पादन तथा क्रिकेट विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगिताको विजेता टिमले ३५ हजार नगद तथा २५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार नगद र १५ हजार बराबरको खेलकुद सामग्री जित्नेछ।
व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ:
प्लेयर अफ द सिरिज: रु. ७५००/बेस्ट ब्याटर: रु. ५०००/बेस्ट बलर: रु. ५०००/
उदाउँदो खेलाडी: एक जोडी क्रिकेट सुज (जूता)प्राप्त गर्नेछन् ।
खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगिताबाट उत्कृष्ट ५ खेलाडीलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षण प्रदान गरिनेछ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले खेलाडी उत्पादन र कोहलपुरलाई खेलकुदको हब बनाउन खेलकुद विकास समितिलाई ७ लाख सहयोग गरेको जानकारी दिनुभएको छ। उहाँले आगामी दिनहरूमा पनि स्थानीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
खेलकुद विकास समिति संयोजक चक्र क्षेत्रीले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो।उहाँका अनुसार प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन मिलाइएको बताउनुभयो ।
कोहलपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै यस प्रकारका प्रतियोगिताहरू आयोजना गर्न थालेपछि स्थानीय युवतीहरू क्रिकेटप्रति आकर्षित भएका छन्। यस प्रतियोगिताबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट महिला क्रिकेट खेलाडी उत्पादन हुने विश्वास लिइएको स्थानीय संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।