बैजनाथ, बैशाख ७ – बैजनाथ गाउँपालिका वडा नं. ७ मा सम्पन्न पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सिताराम थारू सहितको सम्पूर्ण प्यानलले विजय हासिल गरेको छ।
निर्वाचनमा थारू नेतृत्वको समूहले सबै पदमा प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन्। समितिको नव निर्वाचित नेतृत्वले आगामी दिनमा स्वच्छ खानेपानी सेवा विस्तार, सरसफाईको स्तर उकास्न तथा उपभोक्ताहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्। यस ऐतिहासिक विजयप्रति नेपाली कांग्रेस बैजनाथ गाउँ कार्य समितिको तर्फबाट अध्यक्ष थारू र उनको सम्पूर्ण प्यानललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।
नेपाली कांग्रेस बैजनाथले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “समितिको नेतृत्वमा निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा पेडारी क्षेत्रका जनताको सेवा, खानेपानीको गुणस्तर सुधार तथा समुचित व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछौं।” यस सफलताले पेडारीका स्थानीय बासिन्दाहरूमा नयाँ आशा र विश्वास थपिएको स्थानीयले प्रतिक्रिया दिएका छन्।