बाँके बैजनाथ – बैजनाथ गाउँपालिका–१ चिसापानीमा रहेको जनजागरण आधारभूत विद्यालयमा ४ कोठे नयाँ भवनको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शिलान्यास गर्नुभएको छ। स्थानिय तहमा विगत दशकदेखि शैक्षिक पूर्वाधारको कमीले पिरोलिएको क्षेत्रमा अब गुणस्तरीय शिक्षाको आधार तयार हुँदैछ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको नेतृत्व र अथक प्रयासमा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण अनुदान कार्यक्रमअन्तर्गत उक्त भवन निर्माणको सुरुवात गरिएको हो। शिलान्यास कार्यक्रमको क्रममा अध्यक्ष शाहीले शिक्षा क्षेत्रमा भवनको महत्वबारे आफ्नो भनाइ राख्दै भने, “शिक्षा भनेको केवल अक्षर चिनाउने काम मात्र होइन, यो समाज परिवर्तनको माध्यम हो। जब विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा पढ्न पाउँछन्, तब मात्र तिनीहरूभित्रको सम्भावना उजागर हुन्छ। हामीले आज जसको शिलान्यास गर्यौं, त्यो केवल इँटापत्थरको संरचना होइन, यो भविष्य निर्माणको पाटो हो।”
उनले थपे, “हिजोका दिनमा यस विद्यालयले जुन समस्याहरू भोग्नुपर्यो, त्यसले हामीलाई धेरै कुरा सिकायो। त्यसैले आज हामी शैक्षिक क्रान्तिको यो अभियानमा एक कदम अघि बढेका छौं। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अबको यात्रा अझ सशक्त र संगठित हुनेछ।” स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, तथा समुदायका अग्रजहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शैक्षिक भावनाले ओतप्रोत वातावरण देखिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले समेत भवन निर्माणले विद्यालयको शैक्षिक प्रगतिको गतिलाई तीव्र बनाउने विश्वास व्यक्त गरे।
जनजागरण आधारभूत विद्यालय विगत १० वर्षदेखि उचित पूर्वाधारको अभावमा सेवा दिँदै आएको थियो। अब चार कोठे भवनको निर्माणपछि शिक्षण सिकाइमा सहजता आउनेछ र विद्यार्थीको उपस्थितिमा समेत सुधार आउने विश्वास गरिएको छ। शैक्षिक क्रान्तिका सिपाहीहरूले शिक्षा मार्फत सामाजिक परिवर्तन सम्भव छ भन्ने नारालाई सार्थकता दिन थालिएको यो कदम गाउँपालिकाभर उदाहरणीय बन्नेछ भन्ने अपेक्षा गरिएको छ।