बाँके : बाँकेको कोहलपुर नगरपालिकाको सञ्चार नीति मस्यौदामाथि सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा सञ्चार नीतिको मस्यौदा बारे सञ्चारकर्मीहरुसँग छलफल र अन्तरक्रिया गरिएको हो ।
यससँगै कोहलपुरले सञ्चार नीति बनाउनका लागि नगरपालिकाले सरोकारवाला पक्षहरूसँग सल्लाह सुझाव संकलन गर्ने काम सुरु गरेको हो । यसअघि नेपालगन्जमा समेत सुझाव संकलन गरिएको थियो । नगरपालिकाले गठन गरेको मस्यौदा तयारी समितिले प्रारम्भिक मस्यौदासमेत तयार पारिसकेको छ । सञ्चार नीति बनाउनका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार समिति गठन गरिएको छ ।
अध्यक्ष गिरीको संयोजकत्वमा कोहलपुर नगरपालिकाका रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल समितिमा सदस्य रहनु भएको छ । सहभागी पत्रकारहरूले मस्यौदामाथि व्यापक रूपमा छलफल गर्नुभएको थियो । कोहलपुर नगरपालिकले आमसञ्चार नीति ल्याउन थालेकोमा खुसी व्यक्त गर्दै उहाँहरूले विभिन्न सल्लाह तथा सुझाव प्रदान गर्नुभएको थियो । दिइएका सल्लाह र सुझाव समेटेर सञ्चार नीति बनाउनुपर्नेमा उहाँहरूको जोड थियो । अन्तरक्रियामा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले सञ्चार नीति बनाउन लागेको बताउनुभयो ।
उहाँका अनुसार कोहलपुरबाट सञ्चालन हुने सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरूलाई दीर्घकालीन रूपमा अगाडि बढाउने नगपालिकाको उद्देश्य रहेको छ । सञ्चारमाध्यमलाई दिगो तथा दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि नीति आवश्यक रहेको नगर प्रमुख आचार्यले बताउनुभयो । सबैको सुझाव आइसकेपछि कार्यपालिकामा लैजाने र नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने हाम्रो योजना रहेको सुनाउनुभयो । कार्यक्रममा कोहलपुर नगर उपप्रमुख संंगीता सुवेदीले सम्पूर्ण सरोकारवालाहरुको सुझावका आधारमा मस्यौदालाई परिमार्जन गर्न सकिने बताउनुभयो ।
उहाँले सञ्चार नीतिलाई अन्तिम रूप दिनका लागि फेरि पनि सरोकारवाला पक्षसँग छलफल गरिने बताउनुभयो । सञ्चार नीति मस्यौदामाथि सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रियामा कोहलपुर क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको थियो ।