बाँकेको कोहलपुरमा एकमहिने सुनचाँदी गहना निर्माणसम्बन्धी आधारभूत तालिम सञ्चालन गरिएको हो । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सुनचाँदी गहना निर्माणसम्बन्धी एकमहिने तालिम सुरु भएको हो । तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले संघको आग्रहमा युवाहरुलाई कालिगड बनाउने उद्देश्यले तालिम सुरु गरिएको बताउनुभयो । कोहलपुरका हरेक युवा रोजगार र आत्मनिर्भर बन्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनारले स्थानीय सरकारको सहयोगमा पश्चिम क्षेत्रमा पहिलोपटक तालिम प्रदान गरिएको बताउनु भएको थियो । तालिमबाट दक्ष युवा कालिगड उत्पादन उहाँले बताउनुभयो । स्वदेशमै केही गरौँ भन्ने सोच भएका युवाहरूलाई सीपयुक्त बनाउन र स्वरोजगार बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका सल्लाहकार बुद्ध सुनारले स्थानीय सरकारले कालिगड उत्पादन गर्नका लागि सहयोग गरेको भन्दै धन्यवाद प्रकट गर्नुभयो ।
संघर्ष दलित महिला सहकारी संस्थाका व्यवस्थापक एवम् प्रबन्धक तुल्सी सुनारले व्यवसाय सुरू गर्नका लागि सहकारी सबैको साथमन रहेको बताउनुभयो ।
उहाँले परम्परागत पेसालाई संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । दलित सेवा संघका केन्द्रीय महासचिव कृष्ण विकले दलित समुदाय हिजोका दिनमा पेसा गरेकाले विभेद सहनु परेको र अहिले उक्त पेसा छोडेका कारण अपमानित हुनु परेकोले आफ्नो समुदायको सीप र पेसालाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो ।
कोहलपुर नगरपालिका बाँकेको आर्थिक सहयोगमा सञ्चालित तालिममा दश जना युवा सहभागी छन् । सहभागीहरूलाई प्रशिक्षक शंकरविर विकले प्रशिक्षण गराउनेछन् ।