बाँके, बैशाख ६ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सञ्चालन गर्दै आएको “शुसासन र रोजगारी, समाजवादको तयारी” राष्ट्रिय अभियान अन्तर्गत बाँके जिल्लाको जानकी गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरी पालिकास्तरीय मागहरू समेटिएको ज्ञापनपत्र बुझाइएको छ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष दीपक जी.एम., उपसचिव टेकेन्द्र मल्ल, उपाध्यक्ष करिश्मा योगी, उपसचिव मकबुल खान लगायत पार्टीका विभिन्न तहका नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। जानकी गाउँपालिका अध्यक्ष मातृका प्रसाद बर्माले ज्ञापनपत्र पढेर जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष खाँले बजेट निर्माण गर्ने क्रममा दिएको ज्ञापन पत्रमा समावेश गर्न मिल्ने योजनाहरुलाई आफुले समेट्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
ज्ञापनपत्रमा स्थानीय स्तरमा देखिएका समस्या र जनताको प्रमुख मागहरू जस्तै—शुसासनको प्रवर्द्धन, युवा रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, पूर्वाधार विकास तथा समाजवादी मार्गदर्शनमा आधारित योजनाहरू समेटिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष दीपक जी.एम.ले भने, “हामी जनताको समस्या बुझ्दै, घरदैलोमार्फत आवाज संकलन गर्दै, समाधानमुखी अभियान सञ्चालन गरिरहेका छौं। समाजवादको तयारी नारामात्र होइन, कार्यनीतिक अभियान हो।”
उपाध्यक्ष करिश्मा योगीले महिलाको सशक्तीकरण, रोजगारी तथा नेतृत्व विकासका विषयमा जोड दिँदै पार्टीले लैंगिक समानतामा विशेष प्राथमिकता दिएको बताइन्। त्यसैगरी उपसचिव मकबुल खानले स्थानीय तहमा सबै वर्ग, जात, धर्म र समुदायका नागरिकलाई समेट्ने खालका योजना ल्याउन आवश्यक रहेको बताए।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष मातृका प्रसाद बर्माले पालिका सरकारले जनताको भावना र मागप्रति संवेदनशील रहनुपर्ने उल्लेख गर्दै ज्ञापनपत्रमा समेटिएका मागहरूलाई प्राथमिकताका साथ अध्ययन र कार्यान्वयन गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा स्थानीय अगुवा, जनप्रतिनिधि, समाजसेवी, पार्टी कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। अभियान अन्तर्गत बाँके जिल्लाका अन्य पालिकाहरूमा समेत क्रमिक रूपमा जनसंवाद, समस्या संकलन र ज्ञापनपत्र बुझाउने कार्यक्रम अघि बढाइने पार्टी स्रोतले जनाएको छ।