Saturday, September 6, 2025
spot_imgspot_img
Homeसमाजराजधानी प्रशासनिक परिसरमा हरियालीको सुरुवात: वृक्षारोपणमार्फत वातावरणप्रेमको सन्देश

राजधानी प्रशासनिक परिसरमा हरियालीको सुरुवात: वृक्षारोपणमार्फत वातावरणप्रेमको सन्देश

दाङ भदौ २१- लुम्बिनी प्रदेशको राजधानी प्रशासनिक परिसर — जहाँ सरकारी कामकाजको धपेडीबीच केही समयको शान्तिको खोजी गरिन्छ, अहिले त्यो ठाउँ विस्तारै हरियालीतर्फ उन्मुख हुँदैछ।

निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा आयोजित वृक्षारोपण कार्यक्रमले राजधानी परिसरलाई नयाँ जीवन र वातावरणीय सन्देश दिन थालेको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरमा विभिन्न प्रजातिका सौन्दर्यपरक र उपयोगी बिरुवाहरू रोपिएका छन्।

कार्यक्रमको उद्घाटन प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले गर्नुभयो। वृक्षारोपणपछि मन्त्री कलवारले वातावरणीय सन्तुलनका लागि यस्ता कामलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

“आज म निकै खुसी छु,” मन्त्री कलवारले भन्नुभयो, “राजधानी प्रशासनिक परिसर हरियाली बनाउनु समयको माग हो। बोटबिरुवाले अक्सिजन दिन्छन्, शीतलता ल्याउँछन्, र प्रकृतिसँग हाम्रो सम्बन्ध गाढा बनाउँछन्।”

कार्यक्रममा प्रमुख सचिव बावुराम अधिकारीले वृक्षारोपण केवल रोपेर मात्र सकिँदैन, संरक्षण र स्याहारमा पनि समान ध्यान जानुपर्ने कुरा उठाउनुभयो। उहाँले वृक्षारोपणलाई ‘पवित्र कार्य’ भन्दै चराचुरुङ्गी, फलफूल र छायाँका लागि दीर्घकालीन फाइदाहरू उल्लेख गर्नुभयो।

यस कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो। मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार परिसरभित्र कल्की, पारिजात, गुलमोहर, राजवृक्षजस्ता फूलबिरुवादेखि लिएर आँप, अम्बा, अमलाजस्ता फलफूलका र रक्तचन्दन, सतिसालजस्ता बहुमूल्य काठ प्रजातिका बिरुवाहरू समेत रोपिएका छन्।

यो केवल वृक्षारोपण कार्यक्रम मात्र होइन, राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र स्वच्छ वातावरणतर्फ डोर्याउने पहिलो पाइला पनि हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments