Saturday, September 6, 2025
spot_imgspot_img

मन्त्रीको सवारीले बालिकालाई ठक्कर, जेब्राक्रसिङमै भयो घटना

काठमाडौं भदौ २१- राजनीतिक भेला, नेताहरूको चहलपहल, मन्त्रीको सवारी र त्यसैबीचमा बाटो काटिरहेकी एक बालिका । ललितपुरको हरिसिद्धि घुम्तीमा आज बिहान यस्तै एउटा दुःखद दृश्य देखियो -कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले एक बालिकालाई जेब्राक्रसिङमै ठक्कर दियो ।

मन्त्री महोदय नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा सहभागी हुन गइरहेका थिए। तर राजधानीको व्यस्त सडकमा, जहाँ जेब्राक्रसिङले पैदल यात्रीलाई प्राथमिकता दिनुपर्ने हो, त्यहीँ एक निर्दोष बालिका मन्त्रीको गाडीको चपेटामा परिन्।

सौभाग्यवश, बालिकाको अवस्था अहिले खतरामुक्त रहेको ट्राफिक प्रहरी कार्यालय, सातदोबाटोले जनाएको छ। बीएण्डबी अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।
तर घटना भएपछि आक्रोशित स्थानीयले गोदावरी–हरिसिद्धि सडक अवरुद्ध गरे। गाडी र शक्तिको दुरुपयोगप्रति जनताले सडकमा उत्रिएर प्रतिकार जनाएका हुन्।

सडक अबरुद्ध हुँदा एमालेको विधान महाधिवेशन पनि एक घण्टा ढिलो सुरु भयो। मन्त्रीको गाडीको लापरवाहीले पार्टीकै कार्यतालिका अस्तव्यस्त बन्यो — नागरिक जीवन त झन् प्रभावित भइहाल्यो।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बालिकाको पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ। उहाँले बालिकाको स्वास्थ्यलाभको कामना गर्दै पार्टीको तर्फबाट चासो व्यक्त गर्नुभएको छ।


  • प्रश्नहरू उब्जाउने घटना
  • मन्त्रीको गाडीले जेब्राक्रसिङमा कसरी ठक्कर दियो?

  • चालकलाई कारबाही हुन्छ कि घटना बिर्सेर अघि बढिन्छ?

  • भोलि फेरि अर्को बालिका बाटो काट्दा सुरक्षा पाउनेछिन?

सडक केवल सवारीसाधनको अधिकार क्षेत्र होइन। पैदल यात्रु, त्यो पनि बालबालिकाको सुरक्षाप्रति राज्य र नेताको जिम्मेवारी हो। यो घटना एउटा ‘दुर्घटना’ हैन, सञ्चालित सत्ताको संवेदनशीलता कति कमजोर छ भन्ने चेतावनी पनि हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments