नेपालगन्ज भदौ २१- इन्टरनेट चलाउने बानी छ? VPN पनि चलाउनुहुन्छ? सावधान – नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सबै सेवाग्राहीलाई कडाइका साथ आग्रह गरेको छ । सरकारले हालै सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरू भीपीएनमार्फत ती प्लेटफर्म चलाउन थालेका छन्। नेपालमै प्रतिबन्ध भए पनि विदेशको आइपी प्रयोग गरेर फेसबुक, टिकटक, एक्स (पूर्व ट्विटर) आदि चलाउने अभ्यास व्यापक हुँदै गएको छ।
यही प्रवृत्तिलाई लक्षित गर्दै साइबर ब्युरोले पनि केही दिनअघि सूचना जारी गर्दै भनेको छ:
“VPN प्रयोग गर्दा तपाईंको व्यक्तिगत विवरण, बैंकिङ जानकारी, पासवर्डजस्ता संवेदनशील डेटा चुहिन सक्छ।”
साइबर ब्युरोका अनुसार VPN चलाउँदा निम्न ठूलो जोखिमहरू हुन्छन्:
-
व्यक्तिगत विवरण चुहावट: तपाईंको लोकेशन, ब्राउजिङ हिस्ट्री, पासवर्डजस्ता सूचना VPN सेवा प्रदायकले ट्र्याक गर्न सक्छ।
-
बैंकिङ ह्याक हुने सम्भावना: मोबाइल बैंकिङ वा अनलाइन ट्रान्ज्याक्सन गर्दा VPN प्रयोग भएमा ह्याकरले पहुँच पाउन सक्छ।
-
भाइरस तथा मालवेयरको जोखिम: थुप्रै फ्री VPN एपहरूमा मालवेयर हुन्छ, जसले तपाईंको मोबाइल वा कम्प्युटर नै ह्याङ्ग वा क्र्यास हुन सक्छ।
नेपालमा सामाजिक सञ्जाल बन्द हुँदा मानिसहरू VPN मार्फत प्रतिबन्धित वेबसाइटहरू खोल्न खोज्छन्। VPN तपाईंको इन्टरनेट ट्राफिकलाई विदेशको सर्भरमार्फत घुमाउँछ, जसले गर्दा तपाईंको लोकेशन परिवर्तनजस्तो देखिन्छ।
तर जसले ‘प्राइभेसी’ दिने दाबी गर्छ, उही सेवा कहिलेकाहीं ‘डाटा चोर’ पनि हुन सक्छ।
के गर्ने?
-
सामाजिक सञ्जाल चलाउनु पर्ने नै छ भने सरकारी नियमअनुसार सूचीकृत माध्यम प्रयोग गर्नुहोस्।
-
VPN एप डाउनलोड गर्दा जाँच गर्नुहोस् – सुरक्षित हो कि हैन ।
-
अनलाइन बैंकिङ, ई–कमर्स वा पासवर्ड प्रविष्टि गर्ने बेला VPN बन्द गर्नुहोस् ।
VPN डिजिटल पहुँचको उपाय हैन, कहिलेकाहीं साइबर सुरक्षाको ढोका पनि बन्द गर्न सक्छ।
नेपाल प्रहरीको साइबर ब्युरोको यो चेतावनी हावादारी छैन -तपाईंको डेटा, तपाईंको पैसा, र तपाईंको पहिचान जोगाउन यस्ता सावधानीहरू अब ‘विकल्प’ हैन, ‘आवश्यकता’ हो ।