नेपालगन्ज, भदौ २५ – देशभर फैलिएको जेनजी विद्यार्थी आन्दोलनको प्रभाव सीमा क्षेत्रमा पनि देखिएको छ । आन्दोलनका कारण उत्पन्न अस्थिरता मध्यनजर गर्दै भारतले नेपाल–भारतको प्रमुख सीमा बिन्दु जमुनाहा नाका बुधबार बिहानदेखि पूर्ण रूपमा बन्द गरेको छ ।
भारतको रुपैडिहास्थित प्रहरी चौकीका प्रमुख रमेशसिंह रावतका अनुसार, नेपाली पक्षमा स्थिति तनावपूर्ण बन्दै गएको देखिएपछि भारतीय पक्षले नाकामा कडाइ गर्दै सबै प्रकारको आवागमन रोकिएको हो । अत्यावश्यक र आपतकालीन सेवाका बिरामी तथा एम्बुलेन्सबाहेक कुनै पनि नेपालीलाई भारत प्रवेशको अनुमति दिइएको छैन ।
उहाँले भारततर्फबाट आउने नेपाली नागरिकलाई पनि अवस्था हेरेर मात्र नेपाल प्रवेशको अनुमति दिइएको जनाउनुभयो। यता भारतीय नागरिकलाई नेपाल पस्न अनुमति नदिइएको पनि उहाँले स्पष्ट गर्नुभयो । यसअघि मंगलबार, जमुनाहा नाकामा भारतीय सुरक्षाबल एसएसबी र प्रहरीद्वारा चेकजाँचमा अत्यधिक कडाइ गरिएको थियो । दिन ढल्कँदै जाँदा आन्दोलनकारीहरूले नेपाली पक्षको प्रहरी चेकपोस्ट र भन्सार यात्रु शाखामा तोडफोड तथा आगजनी गरेपछि सुरक्षा स्थिति झन् चर्किएको थियो ।
सुरक्षा चुनौती बढेपछि रातभरि नेपाली सुरक्षाकर्मी नाकाबाट हटेका थिए । तर बुधबार बिहानदेखि नेपाली सेना नेतृत्वमा पुनः सुरक्षाका लागि उपस्थिति जनाइएको छ। अहिले नाकासहित नेपालगन्ज बजार क्षेत्रको अवस्था विस्तारै सामान्य हुँदै गएको छ ।