नेपालगञ्ज असोज २ – भदौ २३ गतेको जेन-जी आन्दोलनमा लुम्बिनी प्रदेशले तीन जना होनहार युवाहरू गुमायो। एक जना इन्जिनियर बन्ने सपना पालेका थिए, अर्को विदेश जान तयारी गर्दै थिए, र तेस्रोले काठमाडौंमा साइकलमै डेलिभरी गरेर पढ्ने संघर्ष थालेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका-१ का सुलभराज श्रेष्ठ र आयुष थापा तथा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ का निर्मल सारू मगरको गोली लागेर निधन भएको छ। आन्दोलनको भीडमा उभिएका यी युवाहरू अब शान्तिपूर्वक चिरनिद्रामा छन्।
सपना बोकेका सुलभ र आयुष
सुलभराज श्रेष्ठ, २३ वर्ष, काठमाडौंको कान्तिपुर इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए। विदेश पढ्न जाने अन्तिम तयारीमा थिए – २४ गते परीक्षा थियो, तर २३ गतेको आन्दोलनमा उनको जीवन समाप्त भयो।
त्यसै दिन, १९ वर्षीय आयुष थापा पनि प्रहरीको गोलीको शिकार बने। फ्रान्स जाने सपना बोकेर काठमाडौं आएका थिए। नेपालगञ्जकै आदर्श माविबाट १२ कक्षा पास गरेका उनले बेलायती सेनामा जाने प्रयास पनि गरेका थिए। असफल भएपछि वैदेशिक शिक्षाको बाटो रोजेका थिए।
दुवै एकल छोरा थिए। सुलभका पिता नरेन्द्र श्रेष्ठ भने अहिले पनि शान्त स्वरमा भन्छन्, “देश सुधार्न मेरो छोराले आवाज उठाएको थियो, मारिहाले। राज्यसँग केही माग छैन। तर छोराको सपना अब सबैले बोक्नुपर्छ।”
निर्मल: संघर्षको कथा
अर्घाखाँचीका निर्मल सारू मगरले बुटवलमा १२ कक्षा उत्तीर्ण गरेका थिए। उच्च शिक्षा पढ्न काठमाडौं आएका उनी साइकलमा डेलिभरीको काम गर्दै थिए। कीर्तिपुरमा डेरा गरी बस्ने निर्मल सामाजिक सञ्जाल बन्द भएपछि साथीहरूसँग आन्दोलनमा उत्रिएका थिए। उनी पनि त्यो दिन गोली लागेर जीवनबाट बिदा भए।
उनको दाहसंस्कार काठमाडौंमै गरियो। उनका बुवा हालै कतारबाट फर्किएका थिए – अब छोराको अन्तिम बिदाइका लागि।
सरकारको घोषणा, परिवारको आँसु
तीनै युवालाई सरकारले ‘सहिद’ घोषणा गरेको छ। परिवारहरूलाई राहत दिने निर्णय भएको छ। तर मृतकका अभिभावकहरूको आँखामा आश्वासनभन्दा बढी प्रश्नहरू छन् – के दोषीलाई कारबाही हुनेछ? के यस्ता मृत्युहरू फेरि रोक्न सकिन्छ?
नेपालगञ्ज शोकमा डुबेको छ
नेपालगञ्ज-१ का वडाध्यक्ष प्रमोद रिमाल भन्छन्, “आन्दोलनमा हाम्रो वडाका दुई छोराहरू गुमायौं। हामीले परिवारलाई भेटेर श्रद्धाञ्जलि दिएका छौं।”
एकै दिन दुई घरमा काजकिरिया। आयुषका बुवा सुशील थापा बोल्न सक्ने अवस्थामा छैनन्। आफन्त मीनसिंह थापा काजकिरियामा बसेका छन्। उनी भन्छन्, “दोषीमाथि निष्पक्ष छानबिन र कारबाही होस्। अरूका छोराहरूले यस्तो मृत्यु नदेखून्।”


                                    