Thursday, September 18, 2025
spot_imgspot_img
Homeसमाजथारू बस्तीहरूमा दसैँको स्वागत: सुरु भयो सख्या पैयाँनाच

थारू बस्तीहरूमा दसैँको स्वागत: सुरु भयो सख्या पैयाँनाच

दाङ असोज २ – दसैँको सुरुवातसँगै थारू समुदायमा सांस्कृतिक उत्सवको रंग चढ्न थालेको छ। दसैँ नजिकिँदै जाँदा थारू बस्तीहरूमा प्रख्यात ‘सख्या पैयाँनाच’ सुरु भएको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरदेखि सुर्खेतसम्म फैलिएको थारू बस्तीहरू अहिले राते मञ्जिरा र ढोल मादलको तालमा झुम्न थालेका छन्।

सुरु भयो सख्या नाच – दसैँको सांगीतिक तयारी

दाङको दङ्गीशरण–३, हेकुलीगाउँ, घोराही–६, लख्वार लगायत थुप्रै गाउँमा युवायुवतीहरूले रातिको समयमा सख्या नाच सुरु गरिसकेका छन्। स्थानीय युवा राजन चौधरी भन्छन्, “दसैँ आउनु १२/१५ दिन अघिबाटै गाउँमा सख्या पैयाँनाच सुरु हुन्छ। अहिले धेरै गाउँमा तयारी पूरा भइसकेको छ।”

लोकमान चौधरीले पनि पुष्टि गरे, “मादल तयार भएपछि अब एक-दुई दिनभित्र हेकुलीगाउँमा पनि सख्या सुरु हुन्छ।” एक गाउँमा नाच सुरु भयो भने वरिपरिका गाउँहरूमा पनि लहरै यो सांस्कृतिक लय फैलिने गर्छ।

रातिको आँगनमा संस्कृति झल्कने नाच

थारू समुदायमा यो नाच विशेषतः रातिको समयमा नाचिन्छ। राति ८ बजेपछि, दिनभरको काम सकेर, खाना खाइसकेपछि – गाउँको महटाँवा (बडघर) को आँगन चहलपहलले भरिन्छ।
नाचको नेतृत्व मोह्रिन्या (महिला अगुवा) र पछगिन्या (अर्को समूह प्रमुख) ले गर्छन्। दुई समूहमा बाँडिएर गीत गाउँदै नाच्ने यो शैलीमा महिलाहरू हातमा मञ्जिरा बजाउँछन्, पुरुषहरूले मादल बजाएर साथ दिन्छन्।

हेकुली गाउँकी मोह्रिन्या सिरु चौधरी भन्छिन्, “दसैँका मुख्य तीन दिन बाहेक हरेक रात सख्या नाचिन्छ। अविवाहित युवतीहरू परम्परागत थारू वेशमा सजिएर एकै तालमा गाउँछन्, नाच्छन्।”

सामूहिकता, परम्परा र पहिचान

थारूहरूको यो सांस्कृतिक नाच भदौ महिनामा हुने हा¥या गुरै पूजा पछि सुरु हुन्छ र बडादसैँपछि झण्डै एक सातासम्म जारी रहन्छ।
महटाँवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी भन्छन्, “सख्या पैयाँनाच थारूहरूको सांस्कृतिक पहिचान हो। यसले सामूहिकता, सम्मान र परम्पराको निरन्तरता झल्काउँछ।”

दिउँसो पनि नाचिन्छ – विशेष दिनमा

सामान्यतया रातिमा मात्र हुने यो नाच, नवमीदेखि बडादसैँसम्मको विशेष दिनमा भने दिउँसो पनि नाचिन्छ। गाउँभरि उत्सवकै माहोल हुन्छ – सबैको नजर मोह्रिन्या र पछगिन्याको तालमा हुन्छ।

सख्या पैयाँनाच केवल नाच होइन – यो थारू समुदायको इतिहास, सांस्कृतिक चेतना र सामूहिक अस्तित्वको अभिव्यक्ति हो।
दसैँ आउँदै गर्दा, देशका सहरहरूमा चहलपहल बढ्दै जाँदा, ग्रामीण थारू बस्तीहरू भने मादल र मञ्जिराको तालमा आफ्नो मौलिक पर्वलाई स्वागत गर्दैछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments