नेपालगन्ज असोज ४ – नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति, बाँकेको ८ औँ साधारण सभा तथा अधिवेशन आज कोहलपुर–१, कौशिलानगरस्थित सुपरस्टार तेक्वान्दो डोजाङ्गमा सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपले प्रकाश लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । लामिछानेको नेतृत्वमा संघले बाँके जिल्लामा तेक्वान्दोको विकास र विस्तारमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । नयाँ कार्यसमितिमा सिद्ध बहादुर चन्द उपाध्यक्ष, चन्द्र बहादुर श्रेष्ठ कोषाध्यक्ष, जंगविर चौधरी, उमादेवी थापा, खगेन्द्र सिरिष मगर, सुवास धर्तिमगर, र विर बहादुर परियार सदस्यका रूपमा चयन भएका छन् ।
कार्यक्रम बिहान ९ बजे सुरु भएको थियो र बाँके जिल्लाभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक, तथा संघका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो । नेपाल तेक्वान्दो संघ बाँकेले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू मार्फत जिल्लाभर तेक्वान्दोको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा बाँके जिल्लामा तेक्वान्दोको अवस्थाबारे प्रस्तुति दिइएको थियो । वक्ताहरूले विद्यालय तहदेखि नै तेक्वान्दोको प्रशिक्षण विस्तार गर्नुपर्ने, महिला सहभागिता वृद्धि गर्न विशेष कार्यक्रम आवश्यक रहेको, तथा प्रशिक्षकहरूको स्तरीकरण आवश्यक रहेकोमा जोड दिएका थिए ।
विशिष्ट अतिथि सन्तोष श्रेष्ठले जिल्लामा खेलकुदको समग्र विकासका लागि तेक्वान्दो संघको सक्रियता सराहनीय रहेको बताए । उनले जिल्ला खेलकुद विकास समिति सधैं सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष लामिछानेले बाँके जिल्लाभर तेक्वान्दो खेललाई गाउँ–गाउँसम्म पुर्याउने, जिल्लास्तरमा रेफ्री तथा प्रशिक्षक विकास तालिम सञ्चालन गर्ने, अन्तरविद्यालय तथा अन्तरडोजाङ्ग प्रतियोगिता आयोजना गर्ने लगायतका योजना सार्वजनिक गरेका थिए।


